काठमाण्डु – दशकौंको राजनीतिपछि पनि निर्वाचनमा टिकट नपाएपछि थुप्रै त्यागी नेता नेतृत्वप्रति असन्तुष्ट छन् । कसैले बागी उम्मेदवारी दिएका छन् त कसैले पार्टी परित्याग गरी स्वतन्त्रको बाटो राेजेका छन् ।
तर, केही ‘भाग्यमानी’ नेता यस्ता छन्, जसका श्रीमान–श्रीमती, ससुरा बुहारी, छोरीज्वाइँ, भाइभतिजा लगायत परिवारका दुईदेखि तीन जनासम्मले टिकट पाएका छन् । उम्मेदवारका लागि योग्य भएर पनि फरक मत राख्ने र नेतृत्वलाई प्रतिप्रश्न गर्ने कतिपय नेताले यस पटक टिकट पाएनन् ।
सदाझैं यस पटक पनि राजनीतिमा ‘नेपोटिजम्’ अर्थात् परिवारवाद भने यथावत् रह्यो । योग्य उम्मेदवारलाई पाखा लगाएर आफ्ना आसेपासे तथा परिवारभित्रैका सदस्यलाई नै विभिन्न राजनीतिक दलको नेतृत्वले यस पटक काखी च्यापेर राजनीतिको धज्जी उडाएका छन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट उम्मेदवारी दिएका छन् ।
उनकी पत्नी आरजु राणा देउवा समानुपातिकमा रहेकी छन् । देउवा परिवारबाटै प्रधानमन्त्रीका भतिज प्रकाश देउवालाई कांग्रेसले कैलाली–५ ९ख०बाट उम्मेदवार बनाएको छ । कांग्रेसबाटै गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–२ बाट उम्मेदवार बन्दा श्रीमती मञ्जु खाँण समानुपातिकतर्फको बन्द सूचीमा रहेकी छन् ।
कांग्रेसकै कोइराला परिवारबाट यस पटक पनि ३ दाजुभाइ उम्मेदवार बनेका छन् । शशांक कोइराला नवलपुर र शेखर मोरङ–६ बाट प्रतिनिधिसभा उम्मेदवार बन्दा गिरिजापुत्री सुजाता मोरङ–२ बाट चुनाव लड्दैछिन् ।
यसैगरी नेकपा एमालेबाट यस पटक पनि रघुवीर महासेठ र जुली महतो दम्पती प्रतिनिधिसभामा भिड्दैछन् । महासेठ धनुषा–४ बाट चुनाव उठ्दै गर्दा उनकी श्रीमती जुली धनुषा–३ बाट उम्मेदवार रहेकी छन्।
त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका तीन जना प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार बनेका छन् । प्रचण्ड आफै गोरखा २ बाट उम्मेदवार बनेका छन् । उनै प्रचण्डले बुहारी बिना मगरलाई कञ्चनपुर–१ बाट उम्मेदवार बनाएका छन्।
छोरीज्वाइँ जीवन आचार्यलाई प्रचण्डले मोरङ ६ ९क०बाट प्रदेश उम्मेदवार बनाएका छन्। यता वर्षमान–ओनसरी, देवेन्द्र–बलावती, महेश्वर–पार्वती दम्पत्ती चुनावी दौडमा छ । अन्य नेताहरूले आफुले टिकट नपाएपनि आफन्तलाई उम्मेदवारका रूपमा अघि सारेका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई यस पटक छोरी मानुषीलाई अघि सारेर आफू चुनाव उठेनन् ।भट्टराईकी छोरी मानुषी श्रीमती हिसिला यमी चुनाव उठ्दै आएको काठमाण्डु–७ बाट उम्मेदवार बनेकी छन् ।
माओवादीका उपमहासचिव वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती दुवै प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । पुन रोल्पाबाट र घर्ती काठमाण्डु–२ बाट चुनावी मैदानमा उत्रिँदैछन् ।
यस्तै, माओवादीबाटै शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ–२ बाट चुनाव लड्दै छन् भने उनकी श्रीमती बलावती शर्मालाई माओवादीले समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ । खेलकुदमन्त्री महेश्वर गहतराज बाँके–१ बाट प्रतिनिधिसभा उम्मेदवार बन्दा उनकी श्रीमती पार्वती माओवादीबाटै प्रदेशसभाको समानुपातिक उम्मेदवार बनेकी छन्।
जसपाका नेता अशोक राईले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् भने उनकी श्रीमती सुशीला श्रेष्ठ जसपाबाट समानुपातिक उम्मेदवार रहेकी छन्। माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले यस पटक निर्वाचन नलड्ने घोषणा गरे ।
तीन ठाउँबाट सिफारिस भए पनि अन्तिममा चुनाव नलड्ने घोषणा गरेर उनले छोरीलाई सांसद बनाउन अघि सारेका छन्। छोरी कुश्मा महराको नाम उनले लुम्बिनी प्रदेशसभा सांसदका लागि समानुपातिक उम्मेदवारका रूपमा राखेका छन्।
निवर्तमान सभामुख अग्नि सापकोटाले आफ्ना भतिजालाई टिकट दिलाएका छन् । उनले पार्टीमा जोडबल गरेर भतिजा माधवलाई आफ्नै क्षेत्र सिन्धुपाल्चोक–१ बाट उम्मेदवार बनाएका छन्। यसैगरी जाजरकोटबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार रहेका शक्ति बस्नेतले बहिनी ज्ञानुलाई राजनीतिमा अघि सारेका छन् ।
अन्य अग्रज महिला नेतृहरूलाई छुटाएर बहिनी ज्ञानुलाई बस्नेतले जोडबल गरी समानुपातिक उम्मेदवार बनाएका छन् । यस्तै, जाजरकोटबाटै प्रतिनिधिसभा निर्वाचनमा माओवादी उम्मेदवार जनार्दन शर्माले बहिनी नारायणीलाई समानुपातिकमा पारेका छन्।
त्यस्तै दाङ–२ बाट उम्मेदवार बनेका एमालेका शंकर पोखरेलकी बहिनी मेनका समानुपातिकमा परेकी छन् । यता इलाम–२ का उम्मेदवार सुवास नेम्बाङले भाइ वसन्तलाई पाँचथरबाट प्रत्यक्ष प्रतिनिधिसभा उम्मेदवारको टिकट दिलाएका छन् ।




प्रतिक्रिया