अभिनेता राजेश हमाल देखी लियोनार्दो डिक्याप्रियोसम्म बाघ प्रेमी सेलिब्रेटी


काठमाडौं – अभिनेता राजेश हमाल नेपालका लागि बाघ संरक्षण दूत हुन् । बाघ संरक्षणप्रति चेतना फैलाउन तथा बाघ संरक्षणका लागि सर्वसाधारणलाई जिम्मेवार बनाउन नेपाल सरकार तथा डब्लूडब्लूएफले हमाललाई संरक्षण दूत घोषणा गरेको हो । संरक्षण दूतको जिम्मेवारी पाएपछि हमालले बाघ रहेको बर्दिया तथा चिवतन निकुञ्जको भ्रमण गरेका थिए भने स्कुले विद्यार्थीहरूलाई बाघका सम्बन्धमा प्रवचन दिएका थिए । त्यसयता बाघ संरक्षणसम्बन्धी गतिविधिहरूमा हमाल निरन्तर सक्रिय रहँदै आएका छन् ।

बलिउड अभिनेता अमिताभ बच्चन पनि बाघ संरक्षणमा सक्रिय कलाकार हुन् । उनी भारतका बाघ संरक्षण दूत हुन् । विश्व वन्यजन्तु कोष, भारतले उनलाई बाघ संरक्षण दूत (ब्रान्ड एम्बेस्डर फर अ टाइगर कन्जरभेसन) बनाएको हो । बच्चनले बाघलाई लोप हुनबाट जोगाउन आफ्नो कमाइको केही रकम छुट्याउने घोषणा समेत गरेका छन् । भावी पुस्तालाई बाघ देखाउन अहिलेकै पुस्ताले ध्यान दिनुपर्छ भन्ने बच्चनको धारणा छ ।

हलिउडका लोकप्रिय अभिनेता लियोनार्दो डिक्याप्रियो बाघ संरक्षणको क्षेत्रमा सक्रिय कलाकारहरूमध्ये एक हुन् । तीन वर्षअघि सन् २०१५ मा उनले नेपाली बाघ जोगाउन झन्डै १ अर्ब ५० करोड रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।
डिक्याप्रियो फाउन्डेसनले विश्व वन्यजन्तु कोषमार्फत उक्त रकम सहयोग गरेको हो । कोषले नेपाल सरकारसँगको सहकार्यमा बाघ संरक्षणको कार्य गरिरहेको छ । उक्त रकम नेपालमा सन् २०२२ सम्म बाघको संख्यालाई दोब्बर पुर्‍याउने परियोजनामा खर्च भैरहेको छ ।

लियोनार्दो पहिलो पटक सन् २०१० मा बाघ संरक्षणको विश्वव्यापी अभियानअन्तर्गत नेपाल आएका थिए । सन् १९९८ मा स्थापना भएको लियोनार्दो डिकाप्रियो फाउण्डेसनले च्यारिटी इभेन्टहरूको आयोजना गर्दै आएको छ ।

नेपालमा लियोनार्दोले बाघको तस्बिर खिचेका थिए भने बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी तथा स्थानीय बासिन्दाहरूसँग बाघका बारेमा जानकारी लिएका थिए । लियोनार्दो विश्व वन्यजन्तु कोषका दूतसमेत हुन् ।

नेपाल भ्रमण गरिसकेकी हलिउड अभिनेत्री मिसेल योह पनि बाघप्रेमी हुन् । हङकङमा निर्माण हुने एक्सन चलचित्रमा स्टन्ट गरेर चर्चामा आएकी मिसेल चीनको बाघ संरक्षण अभियानकी संरक्षक हुन् । सन् २०११ मा बनेको चलचित्र द लेडीमा उनले आङसाङ सुकीको भूमिका निर्वाह गरेकी थिइन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement