लगाइयो भाइटीका, पाँच वर्षपछि खुल्यो बालगोपालेश्वर मन्दिर

लगाइयो भाइटीका, पाँच वर्षपछि खुल्यो बालगोपालेश्वर मन्दिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाँड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

भाइटीका लगाउन आज दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि समितिले मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने उनले बताए ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर–मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

पाँच वर्षपछि खुल्यो बालगोपालेश्वर

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाण्डुको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि तिहारमा पहिलो पटक खुलेको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा आज भक्तजनको भीड लागेको थियो ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

यस वर्ष मङ्गलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदैछन् । यही मङ्सिर २ गते पनि भाइटीका (किजापूजा) का लागि सरकारले सार्वजनिक बिदा दिएको छ । बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म खुल्ने जनाइएको छ । कोरोना महामारीका कारण देशभर विगत वर्षमा जसरी भाइटीका लगाउन भने मानिसलाई बाधा पुगेको थियो ।