भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषयमा सांसद संग्रौलाले गराइन् सरकारको ध्यानाकर्षण

भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषयमा सांसद संग्रौलाले गराइन् सरकारको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रास्वपा सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका एसपीलाई धम्क्याएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद संग्रौलाले भन्सार अधिकृतको हर्कतप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई भन्सारमा गाडी नियन्त्रणमा लिएको भन्दै अत्यन्तै तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको विषय बाहिर आएको छ’। उनले भनिन्, ‘सार्वजनिक अडियोमा ती भन्सार अधिकृतले सुरक्षा निकायका उच्च अधिकारीलाई ‘स्वाट्टै हान्छु’ भन्दै धम्क्याएको सुनिन्छ।’

संग्रौलाले भनिन्, ‘एउटा भन्सार अधिकृतले गृह मन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुनी मर्यादा र चेन अफ कमान्डको धज्जी उडाउने दुस्साहस कसरी गर्न सक्छन्’, प्रश्न गर्दैै उनले भनिन् ।

आफ्नो जिम्मेवारी र सीमाभित्र रहेर राजस्व चुहावट नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीलाई नै सीमा क्षेत्रका भन्सार अधिकृतले यसरी गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग गर्नु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ। ‘यसले राष्ट्रिय सुरक्षा निकाय र निजामती सेवाको मर्यादा र सिंगो राज्य संयन्त्रको छविमाथि नै गम्भीर आघात पुर्‍याएको छ’ उनले बताइन् ।

घटनाको तत्काल र निष्पक्ष छानबिन गर्न माग गर्दै संग्रौलालले ती अधिकृत दोषी देखिएको खण्डमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्ने र सीमा क्षेत्रमा खटिने सुरक्षा निकाय र राजस्व प्रशासनबिच उचित समन्वय र मर्यादित वातावरण कायम गर्न नेपाल सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरिन् ।