टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुँदै

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुँदै


काठमाण्डु – टीकापुर साहित्य महोत्सव २०८२ चैत्र १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने भएको छ ।

पत्रकार सम्मेलन गर्दै टीकापुर साहित्य समाजले टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण हुने जानकारी दिएको हो ।

महोत्सवको पूर्वसन्ध्यामा विद्वत प्रवचन, विद्यालय तथा माध्यमिक विद्यालयहरूमा नाटककार अशेष मल्लद्वारा लिखित सन्देशमूलक सडक नाटक प्रदर्शन, विद्यालयहरूमा अध्ययनरत लेखनमा अभिरूचि भएका विद्यार्थीका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको आयोजना गरिनेछ ।

महोत्सवमा बहसका साथै सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव, दोस्रो दिन गजल श्रवण तथा विद्यार्थीको सांस्कृतिक कार्यक्रम र तेस्रो दिन थारू साहित्य तथा सांस्कृतिक उत्सव गरिनेछ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा हुन गइरहेको टीकापुर साहित्य महोत्सवको मुख्य प्रवर्धकका रूपमा सुदूरपश्चिम प्रदेश सरकार रहनेछ भने नेपाल पर्यटन बोर्ड महोत्सवको सहप्रवर्द्धक रहने जानकारी दिइएको छ ।