धनगढी – कैलालीको टीकापुर नगरपालिकाले १ महिनापछि कार्यबाहक नगर प्रमुख पाएको छ ।
टीकापुर नगरपालिकाका निर्वाचित नगर प्रमुख रामलाल डगौंरा थारु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए । प्रतिनिधि सभाको टिकट पाएपछि डगौंराले पदबाट राजीनामा दिएका थिए ।
टीकापुरको उपप्रमुख खडकबहादुर शाही त्यसअघि नै भ्रष्टाचार मुद्धामा मुछिएर निलम्बन भएका थिए । शनिबार बसेको कार्यपालिका बैठकबाट नगार्जी कार्यबाहक प्रमुखमा चयन भएका हुन् । बैठकका बहुमत सदस्यले नगार्जीलाई कार्यबाहक प्रमुखका रूपमा चयन गरेका थिए । नगर प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएपछि कार्यपालिका सदस्यहरूको निवेदनका आधारमा कार्यपालिका बैठक बोलाइएको र बैठकले कार्यबाहक नगर प्रमुख चयन गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए ।
नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य निर्वाचित भएका नगार्जीलाई कार्यपालिकाको ज्येष्ठ सदस्यका आधारमा कार्यबाहक प्रमुख चयन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११७ अनुसार नगार्जीलाई कार्यबाहक प्रमुखमा चयन गरिएको नगरपालिका सूचना अधिकारी देवीप्रसाद आचार्यले जानकारी दिए ।
टीकापुर नगर कार्यपालिकामा रहेका १७ सदस्यमध्ये ९ जना सदस्यले नगार्जीलाई साथ दिएका छन् । यसमा ५ जना नेपाली कांग्रेस २ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना तत्कालीन नेकपा माओवादी केन्द्र र १ जना एमालेका सदस्यले साथ दिएका छन् ।
सदस्य निर्वाचित हुँदा २ जना नागरिक उन्मुक्ति पार्टी र १ जना माओवादी केन्द्रका सदस्य भए पनि कार्यबाहक नगर प्रमुख चयन गर्दा उनीहरूले नेपाली कांग्रेसलाई साथ दिएका छन् । तत्कालीन नागरिक उन्मुक्ति पार्टी र केन्द्र अहिले नेपाली कम्युनिष्ट पार्टी भएको छ । नेपाली कम्युनिस्ट पार्टीका कार्यपालिका सदस्यहरू भने बैठकमा उपस्थित भएनन् ।




प्रतिक्रिया