रेशम चौधरी जोडिएको टीकापुर काण्डको फैसला आज


काठमाडौं – तीन वर्षअघि भदौ ७ गते कैलालीको टीकापुर सहरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा संलग्न रहेको भनिएका सांसद रशेम चौधरीको बहस मंगलबार सकिएको छ ।

मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ । जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार सो मुद्दाको बिषयमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए ।

प्रतिवादी तर्फबाट भने धेरै कानुन ब्यवसायीहरुले बहस गरेका थिए । यो घटनाका प्रमुख आरोपी मानिएका चौधरी घटना लगत्तै भूमिगत भएका थिए । सुदूरपश्चिमका ९ जिल्लाकै एक प्रदेश हुनुपर्ने माग राखेर अखण्ड सुदूरपश्चिमको आन्दोलन उतकर्षमा थियो भने त्यसविपरित तराईका दुई जिल्ला कैलाली कञ्चनपुरसहितको अलग्गै थरुहट प्रदेशको माग राखेर थारु समुदाय आन्दोलित थिए ।

२०७२ सालमा घटेको टीकापुर घटनाको उक्त मुद्दाको सुनुवाई झण्डै साढे तीन वर्षपछि शुरु भएको हो। टीकापुर घटनाका मुख्य आरोपीका रुपमा रहेका रेशम चौधरी घटनापछि प्रतिनिधिसभामा समेत निर्वा्चित भएर हाल कारागारमै छन्। निर्वाचित भएको एक वर्षपछि उनलाई गत महिना सांसदको सपथ समेत खुवाइएको थियो।

टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो। हालसम्म १ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। घटनामा संग्लन ३२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement