काठमाण्डु – वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण सार्वजनिक गरेका छन् ।
आज नेपाल बारले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव जितेर आएको सांसदको जस्तो भाषा प्रयोग नगर्न पनि प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएका छन् ।
‘प्रधानन्यायाधीशज्यूले राजनीतिज्ञको भाषा बोल्नु भएको छ । उहाँले सांसद र मन्त्रीले बोल्ने भाषा बोल्नु भएको छ । उहाँले सडकबाट राजीनामा माग्दैमा नदिने बताउनु भएको छ,’ उनले भने, ‘नैतिकताको बल र जनआस्थाको आधारमा टिक्ने पद भएकाले प्रधानन्यायाधीशले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । चुनाव जितेर आएका सांसदले जस्तो भाषा बोल्न मिल्दैन । म सोध्न चाहन्छु प्रधान्यायाधीशज्यूको क्षेत्र कुन हो ?’
बारका पूर्वउपाध्यक्ष भट्टराईले प्रधानन्यायाधीशको क्षेत्र वकालत भएको बताउँदै देशभरका अदालतमा चुनाव गराउन पनि चुनौती दिए । उनले कानुन व्यवसायी र १९ जना न्यायाधीशबीचको जनमत चोलेन्द्रको पक्षमा कि विपक्षमा ? भन्दै प्रश्नसमेत गरेका छन् ।
उनले भने, ‘प्रधानन्यायाधीशको क्षेत्र वकालत हो । देशभरका अदालतमा बाक्सा राखौं । १९ जना न्यायाधीशका बीचमा बाक्सा राखौं । उहाँको चुनाव क्षेत्र कानुन व्यवसायी र १९ जना न्यायाधीश हो । यो जनमत चोलेन्द्रको पक्षमा आउँछ कि विपक्षमा ? हामी तयार छौं । उहाँ नैतिक, भौतिक रूपले चुनाव हारिसक्नुभएको छ । आन्दोलनको आँधीबेहरीले हटाउनुभन्दा सहज बहिर्गमन गर्नुस् ।’
भट्टराईका अनुसार यी हुन् प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण
१. न्यायमा अवरोध सिर्जना ।
२. स्वेच्छिक पेसी तोक्ने । पारदर्शी पेसी तोक्न असफल ।
३. न्यायिक विचलनलाई प्रोत्साहन ।
४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाए ।
५. न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन सक्नुभएन।
६. बिचौलियाको दबाब प्रभाव हटाउन सक्नु भएन ।
७. राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्नुभयो ।
८. नियुक्ति र सरूवाको आधारविना मनलाग्दी
९. भ्रष्टाचार र बेथिति मौलायो ।
१०. विचाराधीन मुद्दामा डिफेन्स गर्नुभयो, अन्तर्वार्ता दिएर ।
११. स्वार्थ बाझिएका मुद्दा आफै हेर्नुभयो ।
१२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गर्नुभयो ।




प्रतिक्रिया