तिलोत्तमाको नीति : किसान कार्ड लागू गर्नेदेखि महिला विद्यालय खोल्ने तयारीसम्म

तिलोत्तमाको नीति : किसान कार्ड लागू गर्नेदेखि महिला विद्यालय खोल्ने तयारीसम्म


काठमाण्डु – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसान कार्ड लागू गर्नेदेखि महिला विद्यालय खोल्ने तयारीसम्मको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा नगरपालिकाद्वारा किसानलाई उपलब्ध गराइने विभिन्न प्रकारका कृषि अनुदान, मल, सिँचाइ लगायतलाई व्यवस्थित गराउन मापदण्ड निर्माण गरी तिलोत्तमा किसान कार्ड लागू गरिने उल्लेख छ ।

कृषि सहकारी संस्थामार्फत शुलभ भेटेरीनरी पसल सञ्चालनमा ल्याउन आवश्यक गृहकार्य अगाडि बढाइने, नगर प्रमुख किसान कार्यक्रमलाई थप प्रभावकारी बनाउने, ‘बरु म गर्छु कृषिः तर कहीँ जान्न देश बिर्सी’ भन्ने नारालाई आत्मसात गर्दै स्वदेशमै कृषि उद्यम गर्न चाहने युवालाई प्रोत्साहित गर्न युवाहरूले दर्ता गर्ने कृषि फार्मको व्यवसाय दर्तामा शतप्रतिशत छुट दिने नीति अवलम्बन गर्दै आवश्यक सहयोगका लागि प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

फलफूल विरुवाको आपूर्तिका लागि नगरपालिकाभित्र सामुदायिक वनसँग साझेदारी गरी गाउँघर नर्सरी स्थापनामा विशेष प्राथमिकता दिइने, एक खेती बहु आय नीति अन्तर्गत धान खेतीमा हाँस पालन गर्न किसानलाई उत्प्रेरित गरिने, आठ धामः एकै ठाम भन्ने नाराका साथ निर्माणाधीन मोक्षधाम निर्माणलाई आवश्यक सहयोग एवं सहजीकरण गरी धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरिने, मेड इन तिलोत्तमा नारा अन्तर्गत नगरपालिका भित्रको एउटा विशिष्ट उत्पादनको लागि आवश्यक योजना निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी शैक्षिक सत्रदेखि नगर क्षेत्रमा एक महिला विद्यालय सञ्चालन गर्न आवश्यक तयारी गरिने जनाइएको छ । ‘स्वस्थ नागरिक समृद्ध तिलोत्तमा भन्ने नारालाई सार्थक बनाउन ज्येष्ठ नागरिकहरूलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, मधुमेह रोग निःशुल्क स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर भीआईए शिविर, आँखाको मोतियाबिन्दु पत्ता लगाउने निःशुल्क शिविर साथै आधारभूत स्वास्थ्य सेवाका औषधिहरू नियमित रूपमा वितरण गर्ने व्यवस्था मिलाइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘गर्भवतीसँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिई गर्भवती जाँच तथा सुत्केरी जाँच सेवालाई प्रोटोकल अनुसार सेवा प्रदान गर्न प्रोत्साहन गरिनेछ ।’

आयुर्वेद जीवनशैली व्यवस्थापन अन्तर्गत नागरिक आरोग्य, भान्सा सुधार साथै योग, ध्यान, साधनाको माध्यमबाट आम नागरिकको जीवनशैलीलाई व्यवस्थित गर्न निरोगी नग कार्यक्रम सञ्चालनमा ल्याइने जनाइएको छ ।