तीनकुनेमा सरकारले डोजर चलायो

तीनकुनेमा सरकारले डोजर चलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ ।

शनिवार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गा महानगरले फिर्ता लिएको छ । त्यसक्षेत्रबाट निर्वा्चित प्रदेश सभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएको हो ।

महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको छ । वडाध्यक्ष भण्डारीले १८ दिने सूचना जारी गरेपनि अटेर गरेपछि डोजर चलाएर टहरा भत्काउनुपरेको बताए ।

‘पटकपटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौँ,’ उनले भने ।

प्रदेश सभा सदस्य गणेश दुलालले प्रमाणहरुका आधारमा भत्काएको ठाउँको जग्गा सरकारको नाममा रहेकोले टहराहरु भत्काइएको बताए ।

‘सरकारी जग्गा अतिक्रमण गरेर वर्षौँदेखि एकजना व्यक्तिले भाडामा लगाएको थियो । बारम्बार सूचना जारी गर्दापनि अटेर गरेपछि आज घरटहरा भत्काएका हौँ । यो क्षेत्रमा रहेका सबै अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानका साथ अगाडी बढेका छौँ,’ उनले भने ।

स्थानीयले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन् । जग्गा खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहराहरु भत्काएको आरोप स्थानीयको छ ।