टिपरले हजुरबुवा–नातिनीको ज्यान लिएपछि विराटनगर तनावग्रस्त

टिपरले हजुरबुवा–नातिनीको ज्यान लिएपछि विराटनगर तनावग्रस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिका–१९ मा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएपछि स्थिति तनावग्रस्त बनेको छ ।

पुष्पलाल चोक–विराट चोक सडकखण्ड अन्तर्गत मिलन चोकमा टिप्परले ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । टिप्परले ठक्कर दिँदा मोरङ ग्रामथान गाउँपालिकाका अटो चालक ४५ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीया नातिनी सबिता सरदारको ज्यान गएको हो ।

विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो । प्रहरीले टिप्परसहित टिप्प चालक सुनसरी रामधुनी–५ का ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।

स्थानीयले टिप्पर चालकलाई कडा कारबाही गर्न माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई क्षतिपूर्ति र विराटचोक–घिनाघाट सडकमा टिप्पर आवागमनमा रोक लगाउनुपर्ने माग राखेका छन् ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । साइकल र एम्बुलेन्सबाहेक अन्य सबै खालका सवारीसाधन स्थानीयले चल्न दिएका छैनन् । घटनापछि आक्रोशित स्थानीयले दुई वटा टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।