काठमाण्डु – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाण्डुमा छन् ।
जिल्लामा उत्पादित बाँसको प्रवर्द्धनमा संघीय सरकारले कानूनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाण्डु आएका हुन् ।
स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने संख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयलाई रोजगारीसँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।
नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवर्द्धनमा संघीय सरकारसँग पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नगरेपछि सत्याग्रहदेखि भोक हड्तालसम्मका कार्यक्रम लिएर उनी काठमाण्डु आएका हुन् ।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्दै प्रयोग कम गर्ने काम गरिरहेको र त्यसका लागि नगरपालिकामा प्रशस्त रूपमा पाइने वनस्पति बाँस विकल्पको रूपमा उपयोग हुनसक्ने नगरको योजनामा संघ र प्रदेश सरकारले बेवास्ता गरेको उनको बुझाइ छ ।
कुराकानीका क्रममा ५२ वटा देशले बनाएका चित्रहरू सुरक्षित राखेको बताएका भट्टराईले आफूहरूले पहिलोपटक बाँस सम्मेलन गरेर यसको प्रवर्द्धनमा काम गरिरहेको सुनाए ।
उनले सत्याग्रहको आवश्यकता भनेको जलवायु परिर्वतनका असरलाई न्यूनीकरणका लागि प्यास्टिकजन्य सामान कम प्रयोग गर्ने र बाँसका सामग्री प्रयोग गर्न प्रोत्साहित गर्ने रहेको बताए । तर बाँस प्रवर्द्धनमा प्रशस्त कानूनी र नीतिगत समस्याहरू रहेकाले त्यसको सम्बोधन गर्नका लागि दबाब दिन आफू भोक हड्तालको कार्यक्रम लिएर काठमाण्डु आएको बताए ।
उनले बारम्बार सूचना दिँदा पनि सरकारको तर्फबाट सुनुवाइ नभएको हुँदा सत्याग्रहमा जान बाध्य भएको बताए । ‘सत्याग्रह नै गर्नुपर्ने आवश्यक के हो भने गत साउनमा विभिन्न मन्त्रालयहरुमा बाँसको महत्त्वका साथै जलवायु परिवर्तनबाट पर्ने असरहरूबाट सम्बोधन गर्न माग गरेका थियौं । सामान्य सूचना दिए मात्र पनि काम गर्न सजिलो हुन्छ, पैसा नलिनुहोला भनेर भनेका थियौं । म आफू मेयर भएर पनि साढे ५ लाखसम्मका सोफा वा घुम्ने कुर्सी घटाएर बाँसबाट बनेका फर्निचरमा बसेको हुन्छु । किनकि वातावरण पर्यावरणीय बनाउनुपर्छ । साउन १ गतेबाट प्यास्टिकजन्य सामान लैजान प्रतिबन्ध लगाएका छौं । भावनामा बहेर भन्दा पनि जलवायु परिर्वतनका असरलाई न्यूनीकरण गर्न प्यास्टिकजन्य सामान कम गर्न सकेनौं भने भोलिको दिनमा हामीलाई नै यसले सिध्याउँछ भन्ने सोचले नै कसैले यसविरुद्ध आवाज उठाउनुपर्छ भनेर २ महिनाअघि प्रधानमन्त्रीलाई ७ बुँदे मागसहित असार मसान्तभित्र माग पूरा गरिदिनुहोला भनेका थियौं । माग पूरा नभए जुनसुकै समयमा पनि सत्याग्रहमा जान सक्छौं । सूचना दिँदा पनि नभएपछि हामी सत्याग्रहमा जान तयार भएका हौं । सबै दललाई १ हप्ताको समय दिएका थियौं । त्यति गर्दा पनि सरकारले नसुन्ने भएपछि बाध्य भएका हौं ।’
उनले आफ्ना मागहरू सुनुवाइ नभए भोक हड्ताल गर्ने चेतावनी दिए । ‘सुरुवाती आन्दोलन गर्दा पनि सुनुवाइ भएन भने घरैबाट अन्तिम संस्कारका सामान लिएर आएको छु । सरकार आफैं आएर अन्तिम संस्कार गरिदिए हुन्छ । तर आफ्नो अडानबाट पछि हट्दिनँ,’ उनले भने ।
‘यता काठमाण्डु आउने बेला ७ वटा बाँस लिएर आएको छु । आउनुभन्दा अघि ७ वटा वृक्षरोपण गरेर आएको छु । चित्रा, नांग्लो, पराल, गुन्द्री, राडी लिएर आएको छु,’ उनले अगाडि भने, ‘३ दिनसम्म भोक हड्ताल बस्छु । यदि ३ दिनभित्र पनि नागरिकको आवाज सरकारले सुनेन भने म अनिश्चितकालीन आमरण अनसनमा बस्छु । त्यति गर्दा पनि सुनुवाइ भएन भने देहत्याग गरिदिन्छु । सरकारले आएर अन्तिम संस्कार गरिदेओस् । तर म आफ्नो अडानबाट पछि हट्दिनँ । यसमा मेरो कुनै स्वार्थ छैन । यो सिंगो राष्ट्रका लागि हो,’ उनले भने ।
उनले उकुसमुकुस भएकैले विद्रोही हुनुपरेको बताए । ‘विदेशका सामानलाई बढी प्रयोग गर्ने र देशका सामान खेर जान दिने हो भने स्वरोजगार भइँदैन । युवाशक्ति सबै बाहिर जाने भएछि देशको पैसा पनि सबै बाहिर नै जान्छ । आफ्नै साधनको प्रयोग गर्नुपर्छ । बाँस ५० वर्षसम्म पनि केही नहुने हुँदा यसको प्रयोग बढी गर्नुपर्छ,’ उनले भने, ‘५० प्रतिशत बाँसको प्रयोग गर्न चाहन्छौं । केही स्थानमा विद्यालयका भवन र कक्षा कोठा थप्नुपर्नेछ । त्यसमा बाँसको प्रयोग गर्ने हो भने थोरै लागतमा धेरै काम गर्न सकिन्छ । ४–५ लाखमा हुने काममा २५ लाख खर्च गर्नपर्ने देखिएको छ । बाँस ५० वर्षसम्म टिक्छ भने गाउँगाउँमा खेर गइरहेको चिजमा चाहिँ किन सरकारले ध्यान नदिने ?’ भट्टराईले भने ।
उनले हरेक धर्म र संस्कृतिमा बाँसको महत्व रहेको उल्लेख गरे । उनले अन्य रुख बिरुवाभन्दा ३८ प्रतिशत कार्वन बाँसले दिने भन्दै प्रकृतिक विपत्ति आउन समेत रोक्ने उनले दाबी गरे । भारत र चीनले बाँसको प्रयोग गरेर अर्बौं रकम कमाइरहेका बताए ।




प्रतिक्रिया