हात बाँधेर बस्नको लागि प्रधानमन्त्री भएको होईन : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान भवनको सोमबार काठमाडौंको मातातीर्थमा उद्घाटन गर्दे उनले आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

अरुको प्रगति सुनेर बस्ने र कुरा गर्ने दिन अब नभएको भन्दै प्रधानमन्त्री ओलीले आगामी पाँच वर्षभित्र नेपालको कायापलट गर्ने दावी गरे । उनले सबैले आफ्ना आचारणमा पनि सुधार ल्याउनु पर्ने बताए ।

‘सबैले शान्तीको अनुभुती गरुन् । कसैलाई अन्याय नपरोस, मान्छे देख्दा शत्रु होइन । दाजुभाइ दिदीबहिनी देखियोस’, उनले भने । मुलुक शान्ति र एकताको युगमा प्रवेश गरेको भन्दै उनले मतभेदलाई बिर्सेर मुलुक निर्माणमा एकजुट हुन सबैसँग आग्रह गरे ।

मुलुक लामो द्वन्द्वबाट शान्तिमा प्रवेश गरेकाले अब लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने उनले बताए । उनले नेपालमा शान्ति–सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा पनि गरे । देशलाई सर्वोपरी राखेर जनताको हितमा काम गर्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

चीन सरकारको ३ अर्ब ६० करोड तालिम केन्द्र निर्माण

तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैंयाको सहयोग गरेको थियो । प्रधानमन्त्री ओलीले चीन सरकारलाई यस सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे । ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिना नै निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्टकक्सन कम्पनीले निर्माण गरी भवन हस्तान्तरण गराएकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गरेका हुन् ।

‘समय भन्दा अगावै निर्माण सम्पन्न गरेर यो एउटा उदाहरणीय काम भएको छ’उनले भने ‘अब हाम्रा विकास निर्माणका सबै काम यही गतिमा अगाडी बढ्छन् । यसका लागि सबै तयार रहनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement