भोलिदेखि पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई दोस्रो चरणको खोप लगाइने

भोलिदेखि पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई दोस्रो चरणको खोप लगाइने


काठमाण्डु – सरकारले कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप सोमबारबाट लगाउन सुरु गर्ने भएको छ ।

पहिलो चरणमा एक लाख ८४ हजार फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदी, सरसफाइ कर्मचारी लगायत फ्रन्टलाइनरले लगाएका थिए ।

सोमबारबाट लगाउन थालिने कोरोना विरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई दिइने भएको छ । पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी भएको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

त्यसका लागि उपत्यकाका चार वटा अस्पताल तोकिएको छ । डा. गौतमका अनुसार पत्रकारले सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीका लागि गंगालाल हृदयरोग अस्पताल र टिचिङ अस्पताल अनि संयुक्त राष्ट्र संघका कर्मचारीका लागि पाटन अस्पतालमा खोप लगाउन पाउनेछन् ।

पहिलो चरणको खोप अभियान सकिएसँगै सरकारले अब पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिने तयारी गरेको हो।