काठमाण्डु – नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत पार्टी भएको बताएका छन् ।
शुक्रबार माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका नेता रायमाझीले पार्टी छापामार शैलीमा चलिरहेको बताएका हुन् । उनले माओवादी केन्द्रको नेतृत्व २९ वर्षदेखि एउटै व्यक्तिको हातमा रहेको भन्दै ९ वर्षदेखि महाधिवेशनसमेत नभएको बताए ।
‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ’, नेता रायमाझीले भने, ‘करिब २८, २९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि २०७८ सालसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन ।’
उनले अवैधानिक पार्टीले गरेको कारबाही आफूहरुलाई मान्य नहुने बताए । नेता रायमाझीले आफ्नो अद्यावधिक गर्न नसकिरहेकाले अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई गरेको कारबाही मान्य नहुने बताएका हुन् ।
नेता रायमाझीले नेपालका सबै पार्टीलाई सिस्टममा नल्याई देशमा समृद्धि आउन नसक्ने बताएका हुन् ।
‘पार्टी संस्थागत, वैधानिक र कानुनसंगत हुनुपर्छ । त्यो नभएसम्म देशमा अराजकता, अस्थिरता, राजनीतिक पार्टीहरूमा अस्वस्थ प्रतिस्पर्धा, द्वन्द्व चलिरहेको छ । सबै पार्टीको लागि सिस्टममा नल्याइकन देशको समृद्धि आउन सक्दैन । राजनीतिक पार्टीहरूका बीचमा सुमधुर सम्बन्ध हुनुपर्छ । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । राजनीतिक पार्टीहरूबीचमा स्वस्थ प्रतिस्पर्धा हुन आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने । यही नगरिकन व्यक्तिवादी तरिकाले पार्टी चलाउने, अनुशासनहिन तरिकाले पार्टी चलाउने जुन किसिमले भइरहेको छ । देशको राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउन हामीले यो पहलकदमी बढाएका छौँ ।’




प्रतिक्रिया