अहिलेको अन्तरविरोधकै कारण नेकपा कुनैपनि हालतमा फुट्दैनः टोपबहादुर रायमाझी

अहिलेको अन्तरविरोधकै कारण नेकपा कुनैपनि हालतमा फुट्दैनः टोपबहादुर रायमाझी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता रायमाझीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भैसकेकोले त्यसमा छलफल हुने बताएका छन् ।

‘जहाँसम्म नेकपाको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु छ, पार्टीभित्र सानो होस या ठूलो अन्तरविरोध निरन्तर भैरहन्छन् । यो सर्वमान्य कुरा हो । अन्तरविरोध यस्तो चिज हो–जो निरपेक्ष हुन्छ’, उनले भने, ‘एकता सापेक्ष हुन्छ । अन्तरविरोध कहिले एकदम उचाईमा पुग्छ । कहिले तल पुग्छ । यसलाई स्वभाविक ठान्नुपर्छ । यो अन्तरविरोधले पार्टी विभाजनतिर पो लैजान्छ कि अथवा के हुन्छ ? भन्नेबारे चर्चा भैरहेको छ । म विश्वास दिलाउन चाहन्छु–पार्टी कुनै हालतमा फुट्दैन् ।’

‘अध्यक्ष केपी शर्मा ओलीले पनि अब बस्ने सचिवालय बैठकमा पेश गर्नेगरि प्रतिवेदनको तयारी गर्दै हुनुहुन्छ । सम्पूर्ण विषयवस्तु र एजेण्डालाई केलाएर हेर्दा र अध्ययन गर्दा नेकपा सक्लो रहला कि फुट्ला, सरकार ढल्ला कि के होला भन्ने चर्चा अहिले चलिरहेको छ । म दाबाका साथ भन्छु–यही कारणले मात्रै पार्टी विभाजनमा जाँदैन् । किनभने यसका पछि कारण छन् । यतिवेला नेकपा विभाजन भयो भने नेकपामात्रै फुट्दैन, अहिलेसम्म हामीले संघर्षमार्फत प्राप्त गरेका परिवर्तनका एजेण्डा र उपलब्धि नै गुम्ने खतरा छ । यसको ठूलो असर त प्रमुख नेताहरुलाई नै पर्छ’, नेता रायमाझीले थपे ।

उनले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता÷कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने सुनाए ।

उनले थपे,‘यसको असर त प्रतिपक्षलाई पनि पर्छ । नेकपा नफुट्न जनदबाब छ । देशभरिका कार्यकर्ता पँक्तिले पार्टी फुटे नेताहरुलाई समर्थन हुँदैन भनेका छन् । जनताका आकांक्षा धरायशी हुन्छन, ध्वस्त हुन्छन् भनेका छन् । नेपाली कांग्रेसका साथीहरुले पनि हामीलाई मेहनत गर्न सुझाव दिनुभएको छ । नेकपा फुटे व्यवस्था नै धरायशी हुन्छ भनेर चिन्ता गरिरहेका छन् । पार्टी फुट्न लाग्यो भनेर प्रतिपक्ष त खुशी हुनुपर्ने हो नि, तर उपनि दुःखी छ । उद्योगी तथा व्यवसायी पनि चिन्तामा छन् । अस्थिरताको पक्षमा कोही पनि छैनन् ।’

रायमाझीले अहिले देखिएको पार्टीभिको विवाद र समस्या आफूहरुले कुनैपनि हालतमा समझदारीका साथ हल गर्ने विश्वास दिलाए ।

‘हामी एकै ठाउँमा उभिएर निश्कर्ष निकाल्छौं । पार्टीभित्रको शक्ति सन्तुलन, सबै विषयलाई केलाएर एकीकृत रुपमा छलफल गर्छौं । हामी निश्कर्षमा पुर्याउँछौं । यो वा त्यो रुपमा फुटको पक्षमा उभिने, अस्वस्थ प्रतिष्पर्धा गर्ने, दुश्मनीपूर्ण संघर्षमा लैजाने काम कसैबाट पनि हुनुहुन्न,’रायमाझीले भने, ‘अब पूर्व एमाले वा पूर्व माओवादीतिर फर्कने होईन । हामी एकताको अभियान लिएर हिँड्नुपर्छ । म नेकपाको झण्डा लिएर अघि बढ्न आम नेता तथा कार्यकर्तालाई आह्वान गर्न चाहन्छु । अस्वस्थ, अभद्र, अशिष्ट व्यवहार गर्ने होईन, बरु नेताहरुलाई एकताको लागि खबरदारी गर्नुपर्छ । अधिकारको दृष्टिकोणले नेता तथा कार्यकर्ता सबै बराबर हो ।’

उनले पार्टीभित्र हुने छलफल तथा बहसलाई स्वभाविक रुपमा लिनुपर्नेमा जोड दिए । उनले भने, ‘नेताहरुले पनि पार्टीभित्र देखिएका असहमति, समस्या, सम्भावना र चूनौतिलाई समाधान गर्ने हैसियत राख्नुपर्छ । नेताहरुले पार्टीभित्र उत्पन्न समस्याको समाधान गर्न नसके उहाँहरुको हैसियतमाथि नै प्रश्न उठ्छ । पार्टीलाई धराशयी पारेर नेता हुने हैसियत हुँदैन् । नेताहरुले जनआन्दोलन, जनयुद्ध, संविधान निर्माण, चुनाव, पार्टी एकता र सरकार निर्माणको लागि विशिष्ट योगदान गर्नुभएको छ, अब पनि त्यो हैसियत राख्नुपर्छ ।’

उनले अध्यक्ष दाहालको प्रतिवेदन सचिवालयमा गैसकेकोले त्यसमा विधिसम्मत रुपमा छलफल हुनुपर्ने धारणा राखे । उनले भने,‘आरोप कति सत्य छन् ? कति छैनन ? भनेर त्यो छलफलमा केलाउनुपर्छ । ओलीजीले पनि प्रतिवेदन ल्याउनुहुन्छ । के हुन्छ ? भन्नेबारे अहिले नै भविष्यवाणी नगरौं । प्रतिवेदनलाई सकारात्मक रुपमा अध्ययन गर्छौं । र, निकास निकाल्छौं ।’