यी प्रभावशाली नेता संसदबाट ‘आउट’

यी प्रभावशाली नेता संसदबाट ‘आउट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यस पटकको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलका प्रभावशाली र चर्चित नेताहरू पराजित भएका छन् ।

भावी प्रधानमन्त्रीका आकांक्षी मानिएका दुई जना नै निर्वाचनमा हार व्यहारेका छन् भने पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न दलका अध्यक्षहरूसहित मध्ये थुप्रै प्रभावशाली नेताहरूलाई संसद प्रवेशका ब्रेक लागेको छ ।

झापा–५बाट उम्मेदवार रहेका भावी प्रधानमन्त्रीका आकांक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ष्ठ नेता बालेन्द्र शाहले अत्याधिक मतले पराजित गरेका छन् ।

चार पटक प्रधानमन्त्री बनिसकेका ओलीको पराजय र शाहको जितले राजनीतिमा नयाँ तरंग आएको छ ।

नेपालका इतिहासमा राजनीतिक दल वा सरकारको उच्च पदमा रहेका व्यक्ति पराजित भएका कैयौँ चुनाव छन् । बहालवाला प्रधानमन्त्रीदेखि पार्टी प्रमुखसम्म पराजित भएका विगतमा पनि भएका छन् ।

यसअघि पटकपटक प्रधानमन्त्री बनेका र बहुदलीय प्रजातन्त्र पुनस्र्थापना पछि भएका अधिकांश निर्वाचनमा सांसद बनेका धेरै नेताहरू यसपटकको निर्वाचनमा पराजित हुँदा नयाँ प्रतिनिधिसभामा नदेखिने भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड यो पटक संसद्मा पुग्ने एक जना मात्रै पूर्वप्रधानमन्त्री र प्रभावशाली नेता हुन् ।

उनी बाहेक यो निर्वाचनमा दुई पूर्वप्रधानमन्त्रीदेखि पार्टीका प्रमुख र चर्चित नेताहरू पराजित भइसकेका छन् ।

२०७० साल पछिका निर्वाचनमा फराकिलो मतान्तर सहित झापा–५ बाट निर्वाचित हुँदै आएका ओली यो निर्वाचनमा लज्जास्पद पराजय भोगेका छन् ।

चार पटक प्रधानमन्त्री भइसकेका र तेस्रो कार्यकाल एमालेको अध्यक्ष चलाइरहेका ओली गत भदौको जेन जी आन्दोलनपछि सत्ताबाट पदच्युत भएका थिए ।

केपी ओलीको यो पहिलो पराजय भने होइन। २०६४ सालको संविधानसभा निर्वाचनमा पनि उनी पराजित भएका थिए ।

तत्कालीन समयमा पार्टीको कुनै पदीय जिम्मेवारीमा नभए पनि प्रभावशाली नेता मानिने ओली उक्त चुनावमा माओवादीका कुमार लिङ्देनसँग झापामा पराजित भएका थिए ।

ओलीसँगै सत्ता साझेदारी गरेका पाँच पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पनि यो पटक संसद्मा देखिने छैनन् ।

२०४८ साल देखि डडेलधुरा र कञ्चनपुरबाट निरन्तर चुनाव जितिरहेका देउवा भदौ २४ को हिंसात्मक आन्दोलनका क्रममा आफ्नै घरमा आक्रमणमा परेका थिए ।

पार्टीको विशेष महाधिवेशन मार्फत् देउवालाई पदबाट हटाइए । यद्यपि विशेष महाधिवेशनको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । तर उनी यो निर्वाचनमा उम्मेदवार नै बनेनन् भने चुनावको मुखमा उपचारको नाममा सिंगापुर गए ।

निर्वाचनमा हार व्यहोरेका अर्का चर्चित पात्र हुन् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ।

सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका निर्वाह गरेका नेपाललाई पनि यो चुनाव सुखद रहेन ।

कैयौँ पटक चुनाव जितेको नेपालले यसपटक चौथो स्थानमा चित्त बुझाउनु प¥यो । उनी रौतहट–१ बट चुनाप लडेका थिए । त्यहाँ रास्वपाका राजेशकुमार चौधरी निर्वाचित भएका छन् ।

हाल नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक नेता निर्वाचन अघि नै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग एकीकृत भएका थिए ।

यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि उनी पराजित भएका थिए । त्यसबेला एमालेको नेतृत्व गरिरहेका नेपाल काठमाण्डु– २ र रौतहट–१ दुवै ठाउँबाट पराजित भएका थिए । त्यतिबेला नेपाललाई दुवै ठाउँबाट राजनीतिमा चर्चामा नभएका उम्मेदवारहरूले पराजित गरेका थिए ।

ओली, देउवा र नेपाल जस्तै अरू तीन जना पूर्वप्रधानमन्त्रीहरू पनि यो पटक संसद्मा हुने छैनन् ।

पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्दको पनि संसद् यात्रा रोकिएको छ । उनीहरू यसपटक उम्मेदवार नै बनेनन् ।

अघिल्लो निर्वाचनमा गृहजिल्ला इलाममा पराजित भएका पूर्व प्रधानमन्त्री खनाल यो पटक उम्मेदवार नै बनेनन् ।

२०४८ सालदेखि २०५६ बाहेकका सबैजसो निर्वाचनमा सांसद रहेका खनाल पनि नयाँ संसद्मा नदेखिने नेता हुन् ।

अघिल्लो पटक आफ्नो चुनावी क्षेत्र अर्का प्रचण्डलाइलाई छोडेका अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई यो पटक गोरखा २ बाट उम्मेदवार बनेका थिए । तर मतदान अघि नै उनले आफ्नो उम्मेदवारी फिर्ता लिए ।

२०४० देखि २०६० सालको बीचमा चार पटक प्रधानमन्त्री बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द पछिल्ला चुनावहरूमा उम्मेदवार छैनन् । उनी पछिल्लो पटक २०६४ सालको संविधानसभासम्म सभासद् थिए ।

यो निर्वाचनमा कांग्रेस, एमाले, नेकपासहित मधेशी दलका प्रभावशाली नेताहरू पनि पराजित भएका छन् ।

पछिल्ला संसदीय चुनावमा निरन्तर अपराजित रहेका एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेल रास्वपाका सुलभ खरेलसँग पराजित भएका छन् ।

एमालेका अर्का उपाध्यक्ष पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि रास्वपाका धर्मराज केसीसँग पराजित भएका छन् ।

यो निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला निकै फराकिलो मतान्तरले पराजित भए हुन् । उनलाई रास्वपाकी रुबिना आचार्यले ४२ हजार मतान्तरले पराजित गरेकी छन् ।

कांग्रेसका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल पनि रास्वपाका नयाँ उम्मेदवारसँग पराजित भएका हुन् ।

कांग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका सभापति गगन थापा पनि सर्लाही–४मा रास्वपाका अमरेश कुमार सिंहसँग पराजित भएका छन् ।

नयाँ पार्टी खोलेर पहिलो पटक निर्वाचनमा भाग लिएका पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ पनि काठमाण्डु–३मा रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका छन् ।

नेपाल मजदुर किसान पार्टीका पटकपटक सांसद भएका प्रेम सुवाल पनि यो पटक पराजित बनेका छन् ।

त्यस बाहेक प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पराजित भएका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका कैयौँ दलका प्रमुख नेताहरूलाई पनि संसद् प्रवेशमा ब्रेक लागेको छ ।