टोपबहादुर रायमाझी एमालेबाट निलम्बन

टोपबहादुर रायमाझी एमालेबाट निलम्बन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।

केन्द्रीय सचिवालयको निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा पार्टी विधिको शासनमा विश्वास गर्ने उल्लेख गरिएको छ । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्ने भन्दै एमालेले भनेको छ, ‘ कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ ।’

सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उनलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको विज्ञप्तिमा उल्लेख छ ।

उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ। उनका छोरा सन्दीप रायमाझी वैशाख २० गते साँझ नै बुटवलबाट पक्राउ परिसकेका छन्। यो प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको छ।