फरार रहेका टोपबहादुर रायमाझी पक्राउ


काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए ।

उनलाई काठमाण्डुकाे बुढानिलकण्ठबाट पक्राउ गरेकाे स्रोतले जानकारी दिएको छ । बैशाख २० मा गृहजिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यस दिन काठमाडौं गएर प्रहरीलाई सघाउने उनले बताएका थिए ।

तर, त्यो दिन काठमाडौं आएनन् । भोलिपल्ट पक्राउ गर्न प्रहरी टोली गएकोमा आफैं प्रहरीमा उपस्थित हुने भन्दै पक्राउ नगर्न आग्रह गरेपछि प्रहरी टोली फर्किएको थियो । प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए । उनका छोरा सन्दीपलाई भने २० बैशाखमै प्रहरीले पक्राउ गरिसकेको छ ।

अझैँ यस प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरज पक्राउ पर्न बाँकी रहेका छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भए पनि फरार छन् ।

यस प्रकरणमा पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, पूर्वसचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीपसहित १२ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement