रुपन्देही – ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्रले सरकारविरुद्ध नारा लगाउनुको कुनै औचित्य नभएको बताएका छन् ।
गृहजिल्ला अर्घाखाँचीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले सरकारलाई दिएको समर्थन फिर्ता नलिइ माओवादी केन्द्रले सडकमा सरकारविरुद्ध नारा लगाउनुको अर्थ नभएको बताएका हुन् ।
‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, अनि सडकमा रोइ कराइ गर्ने ?’ उनले प्रश्न गर्दै भने, ‘माओवादीले रोई कराई गर्नुको कुनै अर्थ छैन ।’ मन्त्री रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड आफैंले प्रस्ताव गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नु प्रचण्डको राजनीतिक विचलन भएको टिप्पणी गरे ।
उनले प्रचण्डले राजनीतिक विचलनमा आएर ओलीलाई गाली गाली गर्दै सडक आन्दोलनमा लागेको बताए । माओवादी केन्द्रलगायतका अन्य दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म ओली सरकार रहिरहने भन्दै मन्त्री रायमाझीले सरकार ५ वर्षसम्म रहिरहने बताए ।
प्रचण्डले देशलाई अस्थिरतातर्फ लैजानका लागि विभिन्न शक्ति केन्द्र धाएर विभिन्न चलखेल गरे पनि त्यो सपना पूरा गर्न नसक्ने उनले बताए ।
उनले जनताको म्यानडेट लिन यही सरकारले चुनाव गराउने दाबी गरेका छन् ।




प्रतिक्रिया