टोपबहादुरको सर्वोच्चमा रिट : म एमाले प्रवेश गरेकै छैन, सांसद पद जोगाई पाउँ

टोपबहादुरको सर्वोच्चमा रिट : म एमाले प्रवेश गरेकै छैन, सांसद पद जोगाई पाउँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमै रहेको दाबी गरेका छन् । नेता रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनले दायर गरेको रिटमा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन् । हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको रायमाझीको दाबी छ ।

उनले दायर गरेको रिटमा आफ्नो सांसद पद कायम राखिदिन पनि माग गरेका छन् । नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो ।

सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई समेत दिइएको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।

सांसद पदबाट हटाएको करिब ४ महिनापछि गुहार माग्दै रायमाझी सर्वोच्च पुगेका हुन् । उनले दाबीमा माओवादी केन्द्रको महाधिवेशन पनि नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने उल्लेख गरेका छन् ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर गर्ने अदालतको फैसलापछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरूले आफूहरू ओली नेतृत्वको नेकपामा प्रवेश गरेको बताएका थिए ।