काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको प्रचण्ड–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी मन्त्री रायमाझी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन र दूरदर्शी लक्ष्यका पक्षमा रहेको स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा पदविना एकछिन पनि बस्न नसक्ने केही नेताहरुको गलत प्रचारको अलमलमा नगरी पार्टीलाई एकताबद्ध, जनमुखी र लोकप्रिय बनाउँदै विकास र समृद्धिमा केन्द्रित हुन आग्रह गरिएको छ । बुधबार भएको जनसभामा पुष्पकमल दाहाल प्रचण्डले अोली सरकारका दुई जना मन्त्री आफूसँग आउन वार्ता गरिरहेको बताएका थिए ।
‘मन्त्री टोपवहादुर रायमाझी प्रचण्ड–माधव समूहमा आउँदैछन् भनी गरिएको कु–प्रचार निराशा भएपछिको उपज हो भन्ने हामी ठान्दछौं’, विज्ञप्तिमा भनिएको छ, दूरदर्शी, लोकप्रिय कार्यहरूबाट आतालिएर मुलधारभन्दा बाहिर सडकमा रहेका र पदबिना रहनै नसक्ने केही नेताहरू र उहाँहरुबाट सञ्चालित केही मिडिया र सामाजिक संजालहरूमा आम जनतामा भ्रम फैलाउन गरी गरिएको दुस्प्रचारप्रति खेद व्यक्त गर्दछौं ।’





प्रतिक्रिया