काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले सांसदहरूको अवकाशको उमेर कानूनमै लेखिनुपर्ने बताएकी छन् ।
संसदीय मामिला पत्रकार समाजले धुलिखेलमा आयोजना गरेको निर्वाचन कानून सुधार सम्बन्धी छलफलमा सांसद कार्कीले सांसद हुनका लागि न्यूनतम उमेर तोकिएको तर कति वर्षसम्म सांसद हुन पाउने भन्ने नलेखिएकाले कानूनमै लेखिनुपर्ने बताइन् ।
‘सांसदको योग्यतामा २५ वर्ष उमेर पूरा भएको मान्छे उम्मेदवार हुन सक्ने भन्ने छ तर ऊ कति वर्षसम्म सांसद हुन पाउने त ? यो कुरा चाहिँ लेखिनुपर्दैन ?’ उनले भनिन्, ‘एउटा मान्छे कतिपटक सांसद हुने, कति वर्षसम्म भइरहने हो ? हाम्रो कानूनले व्यवस्था गरेको छैन, यो कानूनमै लेखिनुपर्छ जस्तो लाग्छ ।’
सांसदको शैक्षिक योग्यता पनि कानूनमै उल्लेख गर्नुपर्ने उनले बताइन् । विधि निर्माण गर्ने थलोमा पुग्ने व्यक्तिको शैक्षिक योग्यता महत्त्वपूर्ण विषय भएको भन्दै उनले सांसद हुनका लागि कतिसम्म अध्ययन गरेको हुनुपर्ने भन्ने विषय उल्लेख गर्न आवश्यक रहेको बताएकी छन् ।




प्रतिक्रिया