काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीको मुद्दामा सर्वाेच्च अदालतले फागुन २७ गते फैसला सुनाउने भएको छ ।
उनको सांसद पद रहने वा नरहने मुद्दाको फैसला सुनाउने मिति सरेको छ । ललितपुरको ३ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद कार्कीको पद रहने वा नरहने भन्ने मुद्दाको फैसला सुनाउने मिति आईतबारका लागि तोकिएको भए पनि सरेर २७ गते पुगेको छ ।
गत पुस २५ गतेदेखि कार्कीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा परेको छ । रास्वपाबाट उम्मेदवार भएकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि कार्की सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनी चुनाव लड्न पाएकी थिइन् ।
नेपाल मेडिकल काउन्सिलको सदस्य हुँदा राजीनामा नै नदिएर उम्मेदवारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो । आयोगको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि उनको उम्मेदवारी कायम भएर उनी उम्मेदवार बनेर जितेकी थिइन् ।
प्रतिक्रिया