स्वास्थ्य क्षेत्र सुधारका लागि खाका बनाएको छु : डा. तोसिमा कार्की

स्वास्थ्य क्षेत्र सुधारका लागि खाका बनाएको छु : डा. तोसिमा कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा दुई महिनाअघि शल्य चिकित्सकका रूपमा रहेकी डा. कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छन्।

गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन्। आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उनी जनताबाट अनुमोदन भइन्।

पेशाले चिकित्सक उनको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ। त्यसैका लागि उनको पार्टी सरकारमा सहभागी भएको उनको धारणा छ। सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला डा कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने अपेक्षा राखेकी छन्। उनले आफू सरकारमा गए नेपाली जनतालाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने पहिलो काम नै रहेको बताउँछन्।

कति मानिसले गरिबीका कारण स्वास्थ्य सेवा पाउन नसकेको उनी आफैंले देखेकी छन्। ती गरिब र निमुखा पैसाको अभावले उपचार सेवाबाट बञ्चित हुन नपरोस् र सबै नेपालीले संविधानको व्यवस्थाअनुसार आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन उनी आफू लागिपर्ने बताउँछिन्।

यस्तै उनको ध्यान अहिले कोरोना भाइरस नियन्त्रणमा समेत रहेको छ। छिमेकी मुलुक भारत र चीनमा विएफ–७ नामक नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा पनि नआउला भन्न सकिन्न। त्यसैले उक्त नयाँ भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पनि आफ्नो कार्ययोजना बनाइरहेकी छन्।

डा. कार्की मुलुकका परम्परागत राजनीतिक दलको नेतृत्वले मुलुकलाई सही गन्तव्यमा लैजान नसकेको पनि टिप्प्णी गर्छिन्। यस्तो अवस्था भएपछि आफू नै राजनीतिमा आएको उनले बताइन्।

आफूभन्दा वरिष्ठ चिकित्सक भए पनि उनीहरूबाट राम्रो स्वास्थ्य सेवा दिन नसकिरहेको, गुणस्तरीय स्वास्थ्य सेवा जनतासमक्ष नपुगेकोले समग्र स्वास्थ्य सेवालाई सुधार्नका लागि चिकित्सक पेशा सम्भव नभएपछि आफूले राजनीति रोजेको उनको तर्क छ।

‘एउटा चिकित्कसले मात्र समग्र स्वास्थ्य सेवा सुधार गर्न नसक्ने अवस्था मैले देखेँ। समग्र स्वास्थ्यको विकृति, विसगङ्ति सुधार गर्नका लागि त जनप्रतिनिधि हुनुपर्दछ भन्ने मलाई लाग्यो। अनि राजनीतिमा हामफालेको हुँ। मलाई लाग्छ म सफल पनि भएँ। अब जनताको सेवा गर्नु मेरो कर्तव्य हो’, उनले भनिन्।

आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान रहेका विकृति, विसंगति बुझेको र यो अवस्थाको अन्त्यका लागि देशको स्वास्थ्य क्षेत्रलाई केन्द्रविन्दुमा राखेर राजनीतिमा लागेको उनको भनाइ छ।