सडक देऊ सरकार ! पर्यटक म ल्याउँछु

सडक देऊ सरकार ! पर्यटक म ल्याउँछु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सगरमाथाको देश, बुद्धको जन्मभूमि, प्रकृति र साहसले भरिएको भूमि नेपाल विश्वमै छुट्टै पहिचान बनाइसकेको मुलुक हो । तर एकचोटी सोच्नुस्, यतिधेरै सम्पदा र विविधता हुँदाहुँदै पनि हामी किन अझै वार्षिक ११ लाख पर्यटकमै अड्किएका छौं ? पर्यटकहरू आउँछन् तर फेरि किन फर्किंदैनन् ?

किनभने हामीले टुरिज्म बेचिरहेका छैनौं, टुरिज्म लुकाइरहेका छौं । गन्तव्य त छन्, भावना पनि छन् तर त्यो देखाउने सहज पहुँच छैन । हाम्रो समस्या प्रचारप्रसार र प्रोत्साहनको कमी होइन, पर्यटकीय पूर्वाधारको कमजोर सञ्जाल हो ।

नेपाल: जहाँ गन्तव्य ‘ग्लोबल’ छन्, तर पहुँच ‘लोकल’ पनि छैन । नेपालका पर्यटकीय गन्तव्यहरू यस्ता छन् जुन लोन्ली प्लानेट, ट्रिप एड्भाइजर, फोर्ब्स र नेसनल जियोग्राफिक सबैले ‘बकेट लिस्ट’मा राखेका छन् तर पर्यटक त्यहाँ पुगेका छैनन् ।

रारासम्म पुग्न अझै साहसिक अभियानजस्तै लाग्छ । विमानको विकल्प सीमित, सडक जोखिमपूर्ण । जनकपुरजस्तो धार्मिक–सांस्कृतिक नगरी पुग्न अझै राजधानीबाट ८ घण्टा लाग्छ ।

पर्यटकहरू आउँछन् तर अधिकांश पोखरा र काठमाण्डु वरिपरि घुमेर फर्किन्छन् । किन ? किनभने सस्तो होटल छैन भनेर होइन, सिधा सडक छैन भनेर हो ।

तथ्य: सडक त छ तर यात्रा छैन

नेपालमा हाल करीब ६५ हजार किलोमिटर सडक सञ्जाल फैलिएको छ तर ५०% भन्दा कम मात्र भाग पूर्णरूपमा पिच गरिएको छ । सडकको नाममा माटो, धूलो, बाढीले कटाएको भाग र सवारीको जोखिम मात्र छ भने त्यो ‘मार्ग’ होइन, अवरोध हो ।

नेपालमा सडक सञ्जालको विस्तार भयो, तर सडक अनुभवको सुधार अझै बाक्लो अँध्यारोमा छ । अन्य देशहरूले के गरे ? पर्यटन प्रबर्द्धन होइन, सडक निर्माण ।

नेपालले पर्यटन वर्ष घोषणा गरेर प्रचार र प्रबर्द्धनमा लाखौं खर्च गर्‍यो, पोस्टर, नारा, ब्यानर बनाइए । तर पर्यटकले जब गन्तव्यसम्म पुग्न सकेन, त्यहीँ खर्च व्यर्थ भयो ।

यता हेर्नुस्, ती देशहरू जसले पहुँचलाई प्राथमिकता दिएर टुरिज्ममा क्रान्ति ल्याए: टुरिजममा सडकको शक्ति –

स्विट्जरल्यान्ड: ‘हाइवे टु हेभन’ स्विस आल्प्स पुग्न रेलवे, टनेल, अल–वेदर हाइवे सब उपलब्ध ।

सडक नै अनुभव हो: ग्रिमसेल पास, बर्निना पास जस्ता मार्गहरू आफैं पर्यटकीय आकर्षण बनेका छन् ।

न्युजिल्यान्ड: ‘ड्राइभ टुरिज्म’को जनक मिलफोर्ड रोड, आर्थरस पास जस्ता रमणीय मार्गहरूले दुर्गम क्षेत्रलाई पुग्न योग्य बनाए ।

सरल नारा: ‘कम ड्राइभ थ्रो न्युजिल्यान्ड’

कोस्टारिका: ‘रेन फरेस्ट’सम्म सडक । साना शहरसम्म वातावरणमैत्री सडक बनेपछि पर्यटकले प्राकृतिक चिजभित्रै हेर्ने अवसर पाए । महिलाहरू होमस्टे सञ्चालक बने, कृषि बजारमा विदेशी ग्राहक आइपुगे ।

आइसल्यान्ड: ‘चक्रपथ=राष्ट्रिय धमनी’ । १ हजार ३३२ किलोमिटरको एउटै सडकले सबै प्रमुख गन्तव्यहरू जोडेको छ ।

‘सेल्फ ड्राइभ टुरिज्म’, ‘बजेट क्याम्पिङ’ सबै त्यसबाट सम्भव भयो ।

भारत: पूर्वोत्तर सडक योजनाले टुरिज्म उफ्रियो । पहिला पहुँचलाई बेवास्ता गरियो, अहिले ‘टप ट्रेन्डिङ’: सिक्किम, अरुणाचल, मेघालय । ‘भारतमाला’मा ‘टुरिज्म कोरिडोर्स्’ छुट्टै ।

भियतनाम: ‘पर्यटन पहुँचमार्ग कार्यक्रम’ सुरु गरेपछि ७० लाखबाट १० वर्षमै १.८ करोड पर्यटक ।

रुवान्डा: राष्ट्रिय निकुञ्जहरूसम्म सडक विस्तार गरेपछि टुरिज्मले जीडीपीमा १२% योगदान दिन थाल्यो ।

चीन: ‘पर्यटन सडकमार्फत गरीबी निवारण’बाट होमस्टे, कृषि बजार, हस्तकला सबै फस्टायो ।

प्रस्ताव: नेपाल सरकारलाई ग्यारेन्टी सहितको सन्देश, ‘सरकार ! मलाई राम्रो सडकहरू देऊ ! म तिमीलाई ग्यारेन्टी दिन्छु । अहिलेका ११ लाख पर्यटकलाई २ वर्षमा १५ लाख बनाउँछु, फेरि अर्को २ वर्षमा ३० लाख पुर्‍याउँछु ।’

यो ग्यारेन्टी केवल भाषण मात्र होइन, यो डाटा, ट्रेन्ड र अन्तर्राष्ट्रिय अनुभवको आधारमा भनिएको यथार्थ हो ।

सडक बन्यो भने:

– होटलहरू खुल्छन्

– होमस्टे सञ्चालन हुन्छ

– गाइड, ट्राभल एजेन्ट सक्रिय हुन्छन्

– स्थानीय उत्पादनको बजार विदेशी पाहुनासँग जोडिन्छ

सडक बनेपछि:

क) पर्यटन दोब्बर – विदेशी मुद्रा वृद्धि

ख) स्थानीय रोजगारी – युवा गाउँमै टिक्ने

ग) महिला सशक्तीकरण – होमस्टे, फूड टुरिज्ममा नेतृत्व

घ) धार्मिक–सांस्कृतिक पुनर्जीवन – अन्तर्राष्ट्रिय पहिचान मजबुत

नेपाल: अतिथि सत्कारमा विश्वकै अग्रणी

हामी सबैलाई थाहा छ, नेपालको हस्पिटालिटी (अतिथि सत्कार) संसारकै उत्कृष्टमा पर्दछ । नेपाल आउने प्रत्येक पर्यटकले एउटै कुरा भन्न छुटाउँदैनन्, ‘मैले भेटेकाहरूमध्ये नेपालका मानिसहरू सबैभन्दा दयालु र स्वागतयोग्य छन् ।’ यो कुनै प्रचार होइन, अनुभवमा आधारित सत्य हो ।

अन्तर्राष्ट्रिय ट्राभल ब्लग, डकुमेन्ट्री, ट्रिप एड्भाइजर समीक्षा र यूट्युब भ्लगहरूमा साझा अनुभव यही हो । ‘नेपालमा जति आत्मीयता, सहजता र आत्म–सम्मान सहितको स्वागत पाइन्छ, त्यो अन्यत्र दुर्लभ छ ।’

अतिथि देवो भव: हाम्रो संस्कारमा जति गहिरो छ, त्यो संसारका धेरै मुलुकमा केवल होटल नीति बनेर मात्र सीमित छ ।

नेपालमा होटल मात्रै होइन, गाउँ, घर, चिया पसल र पदमार्गमै पनि स्वागत हुन्छ हृदय खोलेर । त्यसैले भन्न कुनै हिच्किचाहट छैन – पर्यटन पूर्वाधारमा हामी सुधार गर्दैछौं, तर पर्यटन आतिथ्यतामा हामी पहिल्यै १ नम्बर छौं ।

थप महत्वपूर्ण पक्ष: सम्भ्रान्त ग्राहकको रोजाइ । नेपालको अद्वितीय प्रकृति, सांस्कृतिक गहिराइ र साहसिक अनुभवहरूको संयोजनले ‘उच्च–मूल्य, कम–प्रभाव’ पर्यटन सम्भव छ ।

तर यस्तो सम्भ्रान्त वर्गका ग्राहकबाट लाभ उठाउन सर्वोच्च प्राथमिकता सडकमै दिनुपर्छ । उच्च मूल्य तिर्ने पर्यटक कहिल्यै यस्तो गन्तव्य रोज्दैन, जहाँ पुग्न झन्झट होस् ।

१०० जना सामान्य पर्यटक आउँदा जति फाइदा हुन्छ, १० जना सम्भ्रान्त पर्यटक आउँदा उस्तै कहिलेकाहीँ त अझ बढी फाइदा हुन्छ । राजस्व, ट्रेन्डिङ प्रभाव र दीगो वृद्धिको हिसाबले सम्भ्रान्त पर्यटक नै ‘गेम–चेन्जर’ हुन् ।

त्यसैले यदि नेपालले सडकमार्फत सजिलो पहुँच बनायो भने नेपाल देश उच्च सम्भ्रान्तको यात्रा गन्तव्य बन्ने ग्यारेन्टी छ ।

के गर्न सकिन्छ ?

क) पर्यटन सडक गुरुयोजना (२५ गन्तव्य जोड्ने १ हजार किलोमिटर प्राथमिकतायुक्त सडकहरू)

ख) गन्तव्य सडक मोडल (सडक+सेवा+सुरक्षा+बजार)

ग) वार्षिक टुरिज्म रोड रिपोर्ट कार्ड, प्रगति मापन

घ) स्थानीय तहसँगको सहकार्यमा गन्तव्य सडक समितिहरू गठन

अन्तिम सन्देश: देश बेच्न पर्दैन, बाटो देखाए पुग्छ । नेपाल विश्वकै अद्वितीय हिमाली राष्ट्र हो । यहाँका गन्तव्यहरूको मार्केटिङ गर्नै पर्दैन, सिर्फ देखाउने बाटो चाहिन्छ ।

पर्यटकको पाइला जहाँ जान सक्छ, पैसा त्यहीँ जान्छ र पैसा जहाँ जान्छ, विकास त्यहीँ बन्छ । ११ लाख ट्रेलर हो । सडक बन्यो भने १५ लाख इन्ट्री गर्छ, ३० लाख क्लाइम्याक्स । टुरिज्म हाम्रो इन्जिन हो र सडक त्यसको स्टार्ट बटन होइन, टर्बो बुस्ट हो ।

अब भाषण होइन, एक्सन चाहिन्छ । ‘मन्त्रीज्यू ! भोलि तपाईंका नाति–नातिनीहरू विदेशबाट आउँदा नेपाली सडकमा उफ्रिएर गाडीमा हिर्किए भने उनीहरूले सोध्नेछन्, ‘के यो साँच्चै मेरो हजुरबुवाको देश हो ? उहाँको पुस्ताको सबैभन्दा ठूलो असफलता हो ?’ त्यसैले बाटो बनाउनुहोस् । ताकि भोलिको पुस्ताले प्रश्न हैन, गर्व बोकेर नेपाल चिनून् ।

(लेखक क्षेत्री पर्यटन उद्यमी हुन् ।)