काठमाण्डु – विभिन्न मितिमा हराएका १७ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजेर ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाण्डु उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बुढानिलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँ बसपार्क लगायतका स्थानमा दुईपाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका २५२ वटा सवारीसाधन चालू आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १२ वटा सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
चालू आर्थिक वर्षको हालसम्म चोरीका २० वटा २ पाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गरी सवारीसाधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरू अवलम्बन गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।




प्रतिक्रिया