काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङ अभियानमा मादक र लागू पदार्थ सेवन गरी विद्यालय बससहित विभिन्न सवारीसाधन चलाउने ९ जना चालक पक्राउ परेका छन् ।
बुधबार काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाउने ४ जना र मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा परेकामध्ये मादक पदार्थ सेवन गरी सार्वजनिक भाडाका सवारी सञ्चालन गर्ने २ जना, विद्यालय बसका चालक २ जना र माइक्रोबस चालक १ जना रहेका छन् । लागू पदार्थ सेवन गरी भाडाका बस चलाउने ४ जना चालक पनि पक्राउ परेका छन् ।
उनीहरूलाई प्रारम्भिक सोधपुछपछि आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार विद्यालय र सार्वजनिक यातायातका चालकले यात्रुको सुरक्षालाई बेवास्ता गर्दै मादक वा लागूपदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने घटनामा कडाइका साथ निगरानी बढाइएको छ । ट्राफिक प्रहरीले आगामी दिनमा यस्ता अनुगमन र चेकिङलाई अझ कडा पार्ने तयारी गरेको जनाएको छ ।




प्रतिक्रिया