दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह उद्घाटन

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह उद्घाटन


काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विशेष समारोहबीच ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२’को पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका छन् ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित कार्यक्रमको सुरूमा सुरक्षा निकायका प्रतिनिधिहरू, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, नेपाल स्काउट, विभिन्न सरोकारवाला निकायहरूका प्रतिनिधिहरू, विद्यार्थीहरू, ट्राफिक भोलेन्टियर लगायतको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍यापली बसन्तपुर कुमारीघरबाट सुरू भई न्यूरोड गेट, बिर अस्पताल, रणोद्विप, पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार हुँदै काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।

समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको पुनर्निर्माण भवनको उद्घाटन समेत गरे । उनले भवन पुनर्निर्माणमा योगदान पुर्‍याउनेहरूलाई कदरपत्र प्रदान गरे ।

कार्यक्रममा आईजीपी कार्की र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. युवानिधि बसौलाबीच ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘इन्फ्लुएन्जा खोप’ कार्यको शुभारम्भ सम्बन्धी समझदारीपत्र आदानप्रदान भएको थियो । आईजीपी कार्की र नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (एनएआईएमए) का बोर्ड सदस्य सौरभ ज्योतिबिच ट्राफिक कर्मचारीहरूका लागि अनिवार्य अनुशिक्षण तालिम सञ्चालन सम्बन्धी समझदारीपत्र आदानप्रदान समेत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले आमनागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्न एवम् दुर्घटना न्यूनीकरण गर्न अभियान फलदायी हुने बताए । सडक दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकायहरूको संयुक्त जिम्मेवारी आवश्यक रहेको उनले बताए । ट्राफिक प्रहरीका साथ साथै सडकको गुणस्तर, सडकको क्षमता, सवारी साधनको गुणस्तर, सवारी चालक र अन्य समुदायको चेतना र आचरणले समेत सडक दुर्घटना न्यूनीकरणमा ठूलो भूमिका रहने उनले बताए ।

कार्यक्रममा काठमाण्डु महानगरपालिकाका उपप्रमुख सुनिता दंगोल, वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष दिपक केसी र राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले सडक सुरक्षा बारेमा आ–आफ्नो धारणा सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा तयार पारिएको सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक वृत्तचित्र, ट्राफिक प्रहरी तथा बालकलाकरबाट नृत्य समेत प्रस्तुत गरिएको थियो ।