काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरूमा यात्रुहरूको सुरक्षालाई बेवास्ता गर्दै जोखिमपूर्ण यात्रा गराउने कार्य बढेपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ ।
यात्रुहरूबाट प्राप्त निरन्तर गुनासोका आधारमा बुधबार उपत्यकाका विभिन्न रुटमा चल्ने यात्रुबाहक बस तथा माइक्रो बसहरूमाथि कडा निगरानी बढाइएको हो ।
चेकजाँचका क्रममा विशेषगरी सवारीसाधनको ढोकामा यात्रु राखेर यात्रा गराउने, लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु राखेर जोखिम निम्त्याउने सवारीसाधनहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । कतिपय माइक्रो बसहरूमा यात्रुको आधा शरीर ढोका बाहिरै निस्किने गरी जोखिमपूर्ण रूपमा यात्रा गराइरहेको अवस्थामा फेला पारिएकाले त्यस्ता सवारीलाई यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडक सुरक्षालाई मध्यनजर गर्दै जरिवाना मात्र नभई सम्बन्धित सवारीका परिचालकहरूलाई छुट्टै सचेतना कक्षामा समेत सहभागी गराइएको छ । कक्षामा सवारी परिचालकहरूलाई सुरक्षित यात्राका मापदण्ड, यात्रुप्रतिको जिम्मेवारी र ट्राफिक नियमको पालनाका विषयमा प्रशिक्षण दिइएको थियो ।




प्रतिक्रिया