काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गर्दै ‘यात्रु सहायता कक्ष’ संचालनमा ल्याएको छ ।प्रहरीले काठमाण्डुको गंगबुस्थित नयाँ बसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको उद्घाटन गरी आजदेखी बिधिवत रुपमा सेवा दिन शुरु गरेको हो ।
टिकट सम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्ने योजना स्वरुप नयाँ बसपार्कमा कक्ष स्थापना गरि शुरु गरिएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले जानकारी दिए । उनले दशैँ मान्न उपत्यका छाडी आ–आफ्नो थातथलो फर्किने यात्रुहरुलाई बढी भाडा लिने, यात्रु ठगी गर्ने, टिकट लगायत अन्य यातायात सम्बन्धी समस्याहरुलाई सहजता दिलाउन कक्षले काम गर्ने बताए ।
उक्त सहायता कक्षले यात्रु तथा आफ्नो मालसामानको सुरक्षा सम्बन्धी सुसुचित गराउने, जनचेतनामुलक पर्चापम्प्लेट बितरण गर्नेछ । त्यस्तै कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग गरी स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न समेत कक्षले सचेत गराउने एसएसपी भट्टराईले जानकारी दिए ।
यात्रु सहायता कक्ष भएका स्थानहरुमा निशुल्क मास्क बितरण समेत गरिनेछ । महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढि भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्नेछ । आजबाट नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष शुरु भएको छ । आइतबारसम्म सातदोबाटो, कलंकी, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङ्गमा कक्ष राखी संचालनमा ल्याईने महाशाखाले जानकारी दिएको छ ।
दशैंमा घर जान लामो तथा मझौला दूरीका अग्रिम टिकट बुकिङ्ग खुला हुने हुँदा त्यस्ता स्थानहरुमा यात्रुको भिडभाड र हुनसक्ने समस्यालाई समाधान गर्न कक्षहरु सक्रिय भई काम गर्नेछन् । कक्षले फर्जी टिकट बेच्ने र डबल टिकट काट्ने, टिकट कालोबजारी गर्ने, यात्रूलाई सास्ती दिने अनधिकृत व्यक्तिहरु माथी निग्रानी गर्ने, पकेटमार लगायतका गतिबिधी निग्रानी गर्न छुट्टै सादा पोशाकमा समेत ट्राफिक प्रहरीको टोली परिचालन गरिने महाशाखाका प्रबक्ता तथा प्रहरी उपरीक्षक संजीव शर्मा दासले बताए ।
चाडपर्वमा उपत्यकाबाट बाहिर जाने यात्रुको सहजताका लागी उपत्यकाको टिकट काउन्टर रहेका विभिन्न स्थानमा प्रत्येक वर्ष दशैंदेखि छठसम्म यस्ता यात्रु सहायता कक्ष स्थापना गर्दै आएको प्रबक्ता दासले बताए ।
।




प्रतिक्रिया