एक महिनामा २५ सयले ट्राफिक प्रहरीको अनलाईन सेवा पाएँ


काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाईसेन्स, बिलबुक र पर्मिट हराएको सिफारिस हालसम्म २५ सय जनालाई अनलाइनमार्फत सेवा प्रदान गरेको छ ।

सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यतालाई हटाई थप प्रविधिमैत्री बनाउन तथा कोभिड-१९ माहामारीको विषम परिस्थितलाई पनि  मध्येनजर गर्दै ट्राफिक महाशाखाले असोज ५ गते देखी घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस अनलाईनबाटै बनाउन मिल्ने बनाएको थियो ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको लाईसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

उनले ट्राफिक कार्यालय गएर कोभिड १९ को यस महामारीको समयमा पनि भीडभाडमा लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिनुपर्ने दिनको अन्त्य भईसकोले सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिनहुन पनि विशेष अनुरोध गरे ।

दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा हालसम्म अनलाइन मार्फत १,३८४ जनाले लाईसेन्स, १०६९ जनाले बिलबुक र ४७ जनाले पर्मिट हराएको बारेमा निवेदन दर्ता गराएकोमा १,७१० जनालाई अनलाइनबाटै सिफारिस दिई सकेको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले दिए ।

उनले बाग्मति प्रदेश बाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, डब्बल निवेदन दिएका ७९० वटा निवेदन रिजेक्ट गरिएको पनि बताए । कसरी लिने त अनलाईन सेवा ? सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र लस्ट डकुमेन्टस एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो, त्यो सेलेक्ट गरेपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईल वा स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण सब्मिट वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ । सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन । यसको लागि सेवाग्राहीले उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन र उक्त सिफरिस रिपोर्टको प्रिन्ट
लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।

त्यस्तै, महाशाखाले हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने व्यवस्था गरेको छ । यसको लागि सवारी धनीले ट्राफिक प्रहरीको वेबसाइट मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement