काठमाण्डु – काठमाण्डु उपत्यकामा यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जना पक्राउ परेका छन् । काठमाण्डु उपत्यकाबाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाईं, वर्ष ३८ का कुशलराम बस्नेत, वर्ष २८ का गिमबहादुर गाहामगर, रूपन्देहीका वर्ष ३६ का दीपनारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको छ ।
यस्तै, काठमाण्डुबाट बा१६च २१८४ नम्बरको प्राइभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ वर्षे राकेश रसार्इली पक्राउ परेका छन् । रसार्इलीले प्रतियात्रुसँग तीन हजार रूपैयाँका दरले भाडा लिएका थिए ।
चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रतिव्यक्ति पाँच हजारसम्म भाडा लिने २५ वर्षका झनकबहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको हो । घिमिरेले ना१ज ७०२९ नम्बरको टाटासुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन् ।
भाडामा यात्रु ओसार्ने ४७ वटा नीजि सवारी साधनहरू कारवाहीमा
बिशेषगरी काठमाण्डु उपत्यका बाहिरने यात्रुहरुसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राईभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ । त्यस्ता निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाईएपछि कारबाही गरेको महाशाखाले जनाएको छ ।
भाडाका सवारी साधनहरुको जस्तै बोलेरो, स्कार्पियो लगायतका निजि सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको पाईएकोले नियन्त्रण एव कारबाही गर्न अभियान नै चलाएको एसएसपी भट्टराईले जानकारी दिए । उनले जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारवाही पनि सँगसँगै लगिएको समेत बताए ।




प्रतिक्रिया