काठमाण्डु – तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटार स्थित महानगरीय ट्राफिक प्रहरी प्रभाग नेपालटारमा नयाँ भवन निर्माण गरिएको छ । नगरपालिकाद्वारा नव-निर्मित तिन कोठे भवनको आज एक समारोह बीच उद्घाटन सम्पन्न भएको हो ।
वडा नं ११ का अध्यक्ष बिन्दा बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिका प्रमख रामेश्वर बोहोराको प्रमुख आतिथ्यता तथा विशेष अतिथि उपमेयर भवानी डोटेल, महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई र महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंह रहेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै महाशाखा प्रमुख एसएसपी भट्टराईले चक्रपथ बाहिर तथा जनघनत्व बढ्दै गएका क्षेत्रमा सवारी चाप बृद्धि भएसँगै अनुगमन तथा अध्ययन गरि आवश्यकता अनुसार ट्राफिक प्रहरी परिचालन गर्दै आएको बताए ।
पछिल्लो समय तारकेश्वर नगरपालिका क्षेत्र बढि व्यस्त हुँदै गएसँगै सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागी परिचालित ट्राफिक प्रहरीको लागी उपलब्ध भएको नयाँ भवनले थप सहज र प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले जानकारी दिए ।




प्रतिक्रिया