काठमाडौँ – पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड-१९ को सन्त्रास तथा स्कुल कलेजहरूको वार्षिक परीक्षा सकिएकाले
बिदा मनाउनका लागि उपत्यका बाहिर जाने यात्रुहरू वृद्धि भईरहेका छन् ।
यही मौकाको फाईदा उठाई सार्वजनिक बसहरूमा बढी भाडा लिई टिकट बेच्ने २० जना व्यक्तिहरूलाई ट्राफिक महाशाखाको टोलीले पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफै यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारबाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए ।
यात्रुहरूलाई सुरक्षित र सहज बनाउनको लागि ट्राफिक प्रहरी आफैँ यात्रु बनेर र ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको गुनासोका आधारमा उक्त स्ट्रिङ्ग अप्रेशन चलाएको महाशाखाका प्रमुख ढकालले बताए ।
पक्राउ पर्नेहरूमा रूपेश कार्की, सन्तोष श्रेष्ठ, गोबिन्द बुढाथोकी, देविन्द्र कार्की, कमल गुरुङ, लाल बहादुर भुजेल, रोशन राणा कुवँर, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, तिलक लामा, गौतम तामाङ, मानसिंह रूम्वा, कर्ण थिङ, आकाश लामा, सुदर्शन रसाईली, शुक्र लामा, दिनेश शाह र जयन्द्र कुमार शाही रहेका छन् ।
यी व्यक्तिहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशाला स्थानबाट पक्राउ गरिएको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार ती पक्राउ पर्नेहरूले गाडी चढ्नु अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको, एउटै टिकट २ जनालाई बेच्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकोले पक्राउ गरिएको जानकारी दिए ।
उनले भने – “महाशाखाले पीडित सहायता इकाईबाट प्रहरी निरीक्षकको कमाण्डमा सादा पोशाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ र यो कार्य निरन्तर गरिनेछ ।” ती प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कानुनी दायरामा
ल्याउने गरेको श्रेष्ठले बताए ।
ट्राफिक प्रहरी महाशाखाले यही ७ गते ९ जना र चैत्र ८ गते १७ जना व्यक्तिलाई पक्राउ गरि आवश्यक कारवाहीको लागी विभिन्न प्रहरी वृत्तहरूमा बुझाईसकेको छ भने हाल सम्म यो संख्या ४६ जना पुगेको छ ।




प्रतिक्रिया