काठमाण्डु – सैनिक कमाण्ड तथा स्टाफ कलेजमा वैशाख ०३ गतेबाट सुरु भएको सि.सं. ३१ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ ।
दीक्षान्त समारोहका प्रमुख अतिथि प्रधानसेनापति अशोकराज सिग्देलले तालिम सफलतापूर्वक सम्पन्न गरेका शिक्षार्थी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरे ।
बिहीबार आयोजित दीक्षान्त समारोहमा प्रधानसेनापति सिग्देलले तालिममा प्रथम हुने सेनानी साजन सिलवाललाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार र भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल अविजीत राँयलाई सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षार्थी अधिकृत पुरस्कार प्रदान गर्नुका साथै कलेजको वार्षिक प्रकाशन शिवपुरी जर्नलको २६औं संस्करण विमोचन गरे । कार्यक्रममा मास्टर्स इन स्ट्रेटिजिक स्टडी (एमएसएस) कार्यक्रमतर्फ प्रथम भएका सेनानी साजन सिलवाललाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल र कमाण्डान्ट पेपरतर्फ प्रथम भएका सेनानी विवेक राई र सेनानी सिच्यान मोक्तानलाई निमित्त शिक्षाधिकृत सहायक रथी मनोज थापाले पुरस्कार प्रदान गरे ।
नेपाली सेनाका ५४ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १/१ जना तथा बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यानमार, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका १/१ जना गरी १० विदेशीसहित जम्मा ६७ जना अधिकृतहरू तालिम सम्पन्न गरी बिहीबार दीक्षित भएका हुन् ।
विक्रम संवत् २०४९ पुस १४ गते स्थापना भएको कलेजले वित्रम संवत् २०५० भदौ २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलोपटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको थियो । सन् २०१० बाट विदेशी शिक्षार्थीहरू सहभागी हुन सुरु भएको तालिमबाट हालसम्म नेपाली सेनाका १२२७, नेपाल प्रहरीका १६, सशस्त्र प्रहरी बल, नेपालका २८, राष्ट्रिय अनुसन्धान विभागका १९, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १२४ गरी जम्मा १४१५ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भएका छन् ।
कार्यक्रममा बलाध्यक्ष रथी, रथीवृन्द, पूर्व शिक्षाधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका ज्येष्ठ अधिकृत, रक्षा मन्त्रालयका सहसचिव, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, कलेजको शैक्षिक गतिविधिसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध महानुभावहरू तथा अधिकृत र शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।





प्रतिक्रिया