काठमाण्डु- कोभिड–१९ महामारीका कारण चार वर्षदेखि बन्द रहेको किमाथाङ्कासहित ७ वटा पारम्पारिक व्यापार नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन् । शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभाको किमाथांकाका सीमा जोडिएका नाका खुलेका हुन् ।
चीनले १४ परम्परागत सीमा व्यापार नाका मध्ये ७ वटा पुनः खोलेका छन् । द्विपक्षीय व्यापारलाई अझ गहिरो बनाउन र सीमा क्षेत्रमा बसोबास गर्ने जनताको जीवनयापनलाई फाइदा पुग्ने गरी चीनले बन्द गरेका ती नाकाहरू खुलेको चिनियाँ विज्ञहरूले बताएका छन् । चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले २०७६ माघ ५ गतेदेखि किमाथाङ्का नाका पूर्णरुपमा बन्द गरेको थियो ।
शनिबार ७ वटा पारम्परिक नाकाहरू खुलेपछि चिनियाँ राजदूत चेन सोङले बाँकी सात नाका पनि छिटै पुनः सञ्चालन हुने जानकारी दिइन् । व्यापारिक प्रयोजनका निम्ति अब खोलिने ७ नाका ओलाङचुङगोला, किमाथांका, लामाबगर, लार्के, कोरोला, नग्चा र हिल्सा छन् । यी ७ नाकाको भौगोलिक अवस्थिति, प्राकृतिक वातावरण, आवतजावत परिस्थिति के कस्तो अवस्थामा छ, त्यसको लेखाजोखा भइरहेको चिनियाँ पक्षले जनाएको छ ।
ती नाकाहरू बन्द भएपछि संखुवासभाका भोटखोला गाउँपालिकाका जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर थिए । नाका खुलेपछि भोटखोलाका किमाथांका, च्याम्ताङ, चेपुवा, हटिया लगायतका स्थानीयलाई राहत मिलेको छ । नाका पुनःसञ्चालनका दिन शनिबार झन्डै ११० चिनियाँ व्यापारी र ४७ नेपाली व्यापारीले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, खाद्यान्न तथा पेय पदार्थ, कृषि उत्पादन र नेपाली हस्तकलालगायत ५० भन्दा बढी प्रकारका वस्तुको व्यापार कारोबार गरेका थिए ।
महामारीको समयमा बन्द रहेका यी पारम्परिक व्यापारिक नाकाहरू पुनः खुल्दा नेपाल र चीनबीचको द्विपक्षीय आर्थिक आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने संघाई इन्स्टिच्युट फर इन्टरनेशनल स्टडीजमा रहेको दक्षिण एसिया अध्ययन केन्द्रका निर्देशक लिउ जोङ्गीले बताएका छन् ।
चिनियाँ मुखपत्र ग्लोबल टाइम्सलले आइतबारको संस्करणमा उनले भनेका छन्,‘ चीनले धेरैजसो उत्पादित वस्तु नेपालतर्फ निकासी गर्छ भने कच्चा पदार्थ, कृषि तथा पशुपन्छीजन्य वस्तु आयात गर्छ ।’
उनले भनेका छन्, ‘चीनको सिजाङमा नेपाल निर्यात गर्न प्रमुख जीवनयापनका वस्तुहरू समावेश छन्, जुन स्थानीय कृषि र पशुपालनलाई अगाडि बढाउन फाइदाजनक छ ।’
परम्परागत सीमा व्यापार गतिविधिहरू सीमा क्षेत्रको समृद्धि र विकासलाई प्रवर्द्धन गर्दै नेपाल र चीन दुवै देशका सीमावर्ती बासिन्दाहरूलाई उत्पादन र जीवनयापन सामग्रीको आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण स्थान रहेको ग्लोबल टाइम्समा उनले भनेका छन् । गत वर्ष अप्रिलमा, चीनको सिजाङका स्थानीय सरकारले सीमा व्यापार नियमन गर्न र नेपालसँगको गैर–सरकारी आदान–प्रदानलाई सुदृढ गर्न परीक्षण व्यवस्थापनका उपायहरू जारी गरेको थियो ।
‘हामीले सीमा व्यापार पूर्वाधारलाई निरन्तर सुधार गर्ने र नेपाल र चीनबीच थप आर्थिक र व्यापारिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने योजना बनाएका छौं’ सिगाजेका वाणिज्य ब्यूरोका निर्देशक फेङ सुएचेङले ग्लोबल टाइम्ससँग भने ।
चीनको प्रमुख सहरको रूपमा रहेको सिगाजले दक्षिण एसियामा नेपाल, भारत र भुटानसँग सीमा जोडेको छ र ५ वटा व्यापारिक भूमि बन्दरगाहसँग जोडिएका छन् । सिजाङको क्षेत्रीय राजधानी सहर ल्हासामा रहेको भन्सार ब्यूरोका अनुसार सन् २०२३ मा नेपालसँग सिजाङको कुल व्यापार ३८९.५३ मिलियन डलर भएको छ ।




प्रतिक्रिया