काठमाण्डु–सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी बैठकमा कांग्रेसका तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, एमालेका तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव जनार्दन शर्मा, कानुनमन्त्री अजयकुमार चौरासिया, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीलगायत सहभागी छन् ।
आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति हुन बाँकी बुँदामा छलफल भइरहेको जनाइएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।
कार्यदलमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रित गर्ने गरि गत सोमबारको बैठक सकिएको थियो। कार्यदलले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास गरिरहेको छ । कार्यदलले सहमति गरेपछि सो प्रतिवेदन शिर्ष नेताहरुलाई बुझाउने बताइएको छ ।
प्रतिक्रिया