त्रिभुवन विमानस्थलमा ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन विमानस्थलमा ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने स्वचालित बाह्य डिफिब्रिलेटर ‘एइडी’ स्थापना गरिएको छ ।

नेपालमा आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरणतर्फ महत्वपूर्ण मानिएको यो उपकरण अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा जडान गरिएको छ । यो पहल हाप्सा नेपाल र विमानस्थल प्रशासनबीचको सहकार्यमा सम्पन्न भएको हो ।

मुटुको धड्कन अचानक बन्द हुने अवस्था अर्थात् सडन कार्डियाक अरेस्ट विश्वभर मृत्युका प्रमुख कारणमध्ये एक मानिन्छ ।

नेपालमा अस्पताल बाहिर हुने यस्ता घटनामा बाँच्ने दर अत्यन्त न्यून (झण्डै शून्यकै नजिक) रहेको अनुमान गरिएको छ । विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण समयमै पहिचान र तत्काल उपचारको अभाव हो ।

‘एइडी’ एक सरल तर अत्यन्त प्रभावकारी जीवनरक्षक उपकरण हो, जसले हृदयको खतरनाक अनियमित धड्कनलाई विद्युतीय झट्का दिई पुनः सामान्य अवस्थामा ल्याउन सहयोग गर्छ । यो उपकरण तालिम प्राप्त स्वास्थ्यकर्मी मात्र नभई साधारण नागरिकले समेत सजिलै प्रयोग गर्न सक्छन्।

विमानस्थलमा जडान गरिएको ‘एइडी’मा स्पष्ट प्रयोग निर्देशन र क्युआर कोड समेत राखिएको छ, जसमार्फत आपतकालीन अवस्थामा प्रयोग गर्ने तरिका भिडियोमार्फत तुरुन्त सिक्न सकिने व्यवस्था गरिएको छ ।

यो पहल हाप्सा नेपालको नेपाल लाइफ सेभर्स कार्यक्रम अन्तर्गतको दीर्घकालीन अभियानको हिस्सा हो । यस कार्यक्रममार्फत देशभर जीवनरक्षक सीपसहितको समुदाय निर्माण गर्ने लक्ष्य राखिएको छ ।

हालसम्म यस अभियान अन्तर्गत सशस्त्र प्रहरी बलका २ हजारभन्दा बढी जवानलाई सिपीआर तालिम दिइसकिएको छ भने विद्यालयस्तरमा पनि सिपीआर तालिम सुरु गरिएको छ । साथै, शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास समितिसँग जीवनरक्षक सीपहरूलाई औपचारिक शिक्षामा समावेश गर्ने पहल जारी रहेको जनाइएको छ ।

त्यसैगरी, सर्वसाधारणलाई लक्षित गर्दै मोबाइल एप तथा सिपीआर सिकाउने शैक्षिक सामग्रीहरू समेत विकास गरिएको छ ।

डा. रामु खरेलले यो पहल केवल उपकरण स्थापना नभई अस्पताल पुग्नुअघि नै जीवन बचाउन सकिने प्रणाली निर्माणतर्फको प्रयास भएको बताए।

त्यस्तै, सिपीआर कार्यक्रम प्रमुख डा. कमल थापाले प्रारम्भिक उपचार र व्यापक तालिमको आवश्यकता औँल्याए ।

हाप्सा नेपालले आगामी दिनमा राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै देशभर एइडी उपकरणको पहुँच विस्तार र तालिम कार्यक्रमलाई थप सशक्त बनाउने योजना रहेको जनाएको छ ।