क्वारेन्टाइनका लागि त्रिविले ६३ वटा क्याम्पस उपलब्ध गराउने


काठमाडौं – त्रिभुवन विश्वविद्यालयले सरकारको आवश्यकताका आधारमा सबै आंगिक क्याम्पस उपलब्ध गराउन सकिने जनाएको छ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले हिजो सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई लिखित प्रतिबद्धतापत्र दिँदै कोरोना संक्रमण हुनबाट बचाउन त्रिवि सबै सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ।

देशभरका ६३ वटै आंगिक क्याम्पस र अन्य भवन जुनसुकै अवस्थामा प्रयोग गर्न दिन तयार रहेको उहाँको भनाइ थियो।उपकुलपति प्राडा बाँस्कोटा भन्नुभयो– ‘हामीसँग कोरोना भाइरस संक्रमण परीक्षण गर्ने ल्याब छ, केही किट ल्याएर सरकारले जुनसुकै बेला परीक्षण गर्नसक्ने व्यवस्था मिलाएका छौं, त्रिवि परिसरका दुई ठूला भवनमा तत्काल क्वारेन्टाइन बनाउन सकिन्छ। त्रिवि आफ्ना कर्मचारीसमेत परिचालन गर्न तयार छ।’

यसैबीच संघीय मामिला तथा समान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीको अध्यक्षतामा हिजो सोमबार बसेको बैठकमा सबै स्थानीय तहका मेयरहरूले कार्यविधि नभएकाले तत्काल आइसोलेसन र क्वारेन्टाइनका लागि स्थान उपलब्ध गर्न समस्या भएको बताउँदै जनताको जिउधनको सुरक्षा गर्ने प्रमुख जिम्मा आफूहरूको भएकाले त्यसमा कुनै समस्या नलिन आग्रह गरेका थिए।यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement