काठमाडौं – कैलालीको टीकापुरमा २०७२ भैदा ७ गते ९ जनाको ज्यान जानेगरी भएको घटनामा जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीलाई दोषी ठहर गरी जन्मकैदको सजाय गरेर अन्याय गरेको सांसद हृदेश त्रिपाठीले बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा विशेष बैठकमा विशेष समय लिएर बोल्दै सांसद त्रिपाठीले कैलालीबाट निर्वाचित सांसद चौधरीबारे बुधबार कैलाली जिल्ला अदालतले गरेको फैसलाले न्याय नदिएको बताएका हुन् ।
बुधबार कैलाली जिल्ला अदालतले २०७२ भैदा ७ गते टिकापुरमा एसएसपीसहित आठ जना प्रहरी र एक नाबालकको हत्या दोषी ठहर गर्दै चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
सांसद त्रिपाठीले एक पूर्वप्रधानन्यायाधीशले आफूलाई भनेको भन्दै नेपालका अदालतले फैसला दिए पनि न्याय दिन नसकेको दाबी गरे ।त्रिपाठीले भने, ‘सांसद रेशम चौधरीबारे हिजो कैलाली जिल्ला अदालतले फैसला गरेको छ, न्याय गरेको छैन । आज बिहानमात्रै एकजना पूर्वप्रधानन्यायाधीशले हाम्रा अदालतले फैसला मात्रै गर्छन् न्याय गर्दैनन् भन्नुभयो। जुन सांसद रेशम चौधरीको हकमा पनि भयो ।’
त्यसैगरी, त्रिपाठीले उखु किसान मारमा परेको दोहो¥याए । पटक पटक उखु किसानका विषयमा आवाज उठाउँदै आएका त्रिपाठीले चिनी मिल संचालनबारे सरकारले उचित पहल नगर्दा उखु किसान मारमा परेको बताए। उनले चिनी मिल बन्द गर्न लागिएको हुनाले किसनमा हाहाकार पैदा भएको बताए।
त्रिपाठीले उखु मिल संचालन गर्न र उखु किसानलाई अनुदान रकम उपलब्ध गराउन माग गरे। अहिलेसम्म २० प्रतिशत किसानले मात्रै अनुदान पाएकाले सबै किसानलाई अनुदान उपलब्ध गराउन माग गरे ।
प्रतिक्रिया