चीनतर्फ पुटिनको कदम, ट्रम्प भ्रमणपछि बढ्यो चासो

चीनतर्फ पुटिनको कदम, ट्रम्प भ्रमणपछि बढ्यो चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण गरी स्वदेश फर्किसकेका छन् । तर रुसका राष्ट्रपति भ्लालिमिर पुटिन मंगलबारदेखि दुईदिने औपचारिक चीन भ्रमणमा गएका छन् ।

चीनमा पुटिनको यो राजकीय भ्रमण हो । यसअघि ट्रम्पले मे १४ देखि १६ सम्म चीनको औपचारिक भ्रमण गरेका थिए । करिब एक दशकपछि कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण भएकाले विश्वभर यसको विशेष चर्चा भएको थियो ।

यद्यपि ट्रम्प आफ्नो भ्रमणमा अमेरिकाका ठूला प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसहित पुगेका थिए । तर भ्रमण समाप्तिपछि पनि कुनै ठूला व्यापारिक सम्झौताको घोषणा भएन । अब त्यसको ठीक तीन दिनपछि रुसी राष्ट्रपति पुटिन बेइजिङ पुगेका हुन् ।

ट्रम्प लगत्तै पुटिनले गर्न लागेको चीनको भ्रमणलाई विश्लेषकहरूले विभिन्न कोणबाट व्याख्या गरेका छन् । कतिपयले यसलाई चीन–रुस सम्बन्ध थप गहिरो बनाउने प्रयास भएको बताउँछन् ।

यो पहिलो अवसर हो जब चीनले एउटै महिनाभित्र अमेरिका र रुसका राष्ट्राध्यक्षको आतिथ्य गरिरहेको छ । यसलाई चीनले अमेरिका र रुस दुवैसँग सम्बन्ध सन्तुलित राख्ने प्रयासका रूपमा पनि हेरिएको छ । साथै, चीन विश्व राजनीतिमा आफूलाई अझ प्रभावशाली शक्ति बनाउने रणनीतिमा अघि बढिरहेको संकेत पनि मानिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय सम्बन्ध, चीन–रुसबीचको व्यापक रणनीतिक साझेदारी र सहयोगलाई अझ सुदृढ बनाउने विषयमा छलफल गर्नेछन् । साथै उनीहरूले महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान–प्रदान गर्नेछन् ।

यसका अतिरिक्त चीन र रुसका राष्ट्राध्यक्षहरू ‘चीन–रुस शिक्षा वर्ष’ उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् । रुसले पुटिनको यो भ्रमणलाई ‘सद्भावपूर्ण छिमेकी तथा मैत्रीपूर्ण सहयोग सन्धि’ को २५औँ वार्षिकोत्सवसँग जोडेको छ । उक्त सन्धि सन् २००१ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिन र पुटिनबीच हस्ताक्षर भएको थियो ।

गत मे महिनामा चिनियाँ राष्ट्रपति सीले मस्कोको राजकीय भ्रमण गरेका थिए । त्यतिबेला उनले ‘महान देशभक्तिपूर्ण युद्ध’मा विजयको ८०औँ वार्षिकोत्सव समारोहमा भाग लिएका थिए ।

राष्ट्रपति बनेपछि सी जिनपिङको यो रुसको ११औँ भ्रमण थियो । रुस त्यस्तो देश बनेको छ जहाँ उनले सबैभन्दा धेरै भ्रमण गरेका छन्।

त्यस अवसरमा सीले भनेका थिए, ‘चीन र रुस यस्ता असल छिमेकी हुन् जसलाई अलग गर्न सकिँदैन, यस्ता सच्चा मित्र हुन् जसले सुख–दुःख साझा गर्छन् र यस्ता साझेदार हुन् जो एकअर्काको सफलतामा सहभागी हुन्छन् ।’

रायटर्सका अनुसार पुटिन र सी जिनपिङ पछिल्ला केही वर्षमा ४० भन्दा बढी पटक भेट गरिसकेका छन् ।

दुवै नेताले फेब्रुअरी २०२२ मा ‘असीमित रणनीतिक साझेदारी’मा हस्ताक्षर गरेका थिए, जुन रुसले युक्रेनमाथि आक्रमण गरे लगत्तै भएको थियो ।

रुस–युक्रेन युद्धपछि रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र अलगाव बढ्दै गयो । तर चीनले न त रुसको खुला आलोचना गर्‍यो, न त पश्चिमी प्रतिबन्धहरूको समर्थन ।

यसबीच चीन र रुसबीच राजनीतिक तथा आर्थिक सहकार्य निरन्तर बढ्दै गएको छ र रुसको चीनमाथिको आर्थिक निर्भरता पनि उल्लेखनीय रूपमा विस्तार भएको छ ।

दुवै देशले गत सेप्टेम्बरमा मंगोलियामार्फत प्राकृतिक ग्यास पाइपलाइन निर्माण सुरु गर्न कानुनी रूपमा बाध्यकारी सम्झौतामा हस्ताक्षर गरेका थिए । साथै अन्य मार्गमार्फत पनि प्राकृतिक ग्यास आपूर्ति बढाउने सहमति भएको थियो ।

चीन-अमेरिका भेटमा रुसको चासो

रुसी विदेशमन्त्री सर्जे ल्याभ्रोले रुसले चीन र अमेरिकाबीच ‘फुटाऊ र शासन गर’ नीति नअपनाउने बताएका छन् ।

उनले भने, ‘यदि चीन र अमेरिकाबीच कुनै समझदारी भएको छ वा हुनेवाला छ भने त्यो चिनियाँ मित्रहरूको हितमा छ र त्यसमा हामी खुसी हुनेछौँ ।’

पुटिनको चीन भ्रमणको समयलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष अर्थका साथ हेरिएको छ । चीनको साउथ मर्निङ पोस्टले यो पुटिनको नियमित भ्रमण भएको र कुनै ठूलो सैन्य परेड वा भव्य स्वागत समारोहको अपेक्षा नगरिएको जनाएको छ ।

ट्रम्पको चीन भ्रमणमा रुसको निगरानी

ट्रम्पले चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीलाई सेप्टेम्बरमा ह्वाइट हाउस भ्रमणको निमन्त्रणा दिएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीलेले पनि सी जिनपिङ यस वर्ष अमेरिका भ्रमणमा जाने पुष्टि गरेका छन् ।

पुटिनको चीन भ्रमणको खबर ट्रम्पको भ्रमण समाप्त भएको २४ घण्टा नबित्दै सार्वजनिक भएको थियो । रुसी सरकारी समाचार संस्था तासका अनुसार क्रेमलिनले ट्रम्पको चीन भ्रमणलाई नजिकबाट नियालेको थियो ।

विश्लेषकहरूका अनुसार विश्वका दुई ठूला अर्थतन्त्रका शीर्ष नेताबीच हुने प्रत्यक्ष संवादले स्वाभाविक रूपमा रुससहित सबै देशको ध्यान आकर्षित गर्छ ।

एजेन्सीको सहयोगमा