टी–२० विश्वकपको ट्रफी टुर नेपालमा हुने

टी–२० विश्वकपको ट्रफी टुर नेपालमा हुने


काठमाण्डु – आगामी फेब्रुअरी ७ देखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुँदैछ । ट्रफी टुरजनवरी ५ देखि ७ सम्म नेपालमा आयोजना हुने भएको छ।

यस पटक आइईसीसी पुरुष टी–२० विश्वकप २०२६ आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ट्रफी टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।

ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण क्यानले दिएको छैन । नेपालले पनि यसपटक विश्वकप खेल्दैछ । नेपालले आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी–२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो ।

डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको छ।

भारतको दक्षिणी समुद्री किनार नजिक रहेको राम सेतु माथि दुई सिटे प्यारामोटरमार्फत ट्रफी उडाइँदा कार्यक्रम निकै आकर्षक बनेको थियो। यसले भारत र श्रीलंकाबीचको सांस्कृतिक र भौगोलिक सम्बन्धलाई पनि प्रतीकात्मक रूपमा देखाएको छ।