रौतहट – रौतहट प्रहरीले १ ट्रक भन्सार छलेर ल्याइएको सामानसहित चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका–५ हनुमान मन्दिरबाट ना६ख ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुरतर्फ जाँदै गरेको अवस्थामा बरामद गरेको हो ।
ट्रक चालक, ट्रक र ट्रकमा लोड रहेको कफीको दाना, गुल, सेन्ट अतर, पान मसला, युरिया मल, सुर्ती, बिडी, हुका लगायतको सामग्री बरामद गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । चाडपर्वको समयमा भन्सार छलेर ल्याइएको सामानसहित बरामद गरेको ट्रकलाई रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।
उनका अनुसार ट्रक चालक धादिङको गल्छी गाउँपालिका–६ का ३० वर्षीय विनय लामालाई पक्राउ गरिएको छ । भन्सार चलान गरिएको ट्रक र सामान सहितको मूल्य ४७ लाख २८ हजार ६६६ रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।




प्रतिक्रिया