राष्ट्रपति ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त

राष्ट्रपति ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त


एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी– युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार रिपोर्ट गरेका छन् ।

वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उनको कार्यालयले निकायलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि आएको हो ।

ती सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मङ्गलबार पठाइएको दुई वाक्यको इमेललाई उद्धृत गरेका छन् । इमेलमा निर्णयको कारण बताइएको थिएन तर उनको पद ‘तत्काल लागु हुने गरी समाप्त’ भएको जनाइएको थियो ।

ट्रम्प प्रशासनले सहायता फ्रिज र स्टप–वर्क अर्डर (रोक्का र काम रोक्ने) लागू गरेपछि ४८ करोड ९० लाख डलरभन्दा बढी खाद्यान्न सहायता बिग्रने वा सम्भावित दुरुपयोगको जोखिममा रहेको उनको कार्यालयको प्रतिवेदनले चेतावनी दिएको थियो ।

प्रतिवेदनले लामो समयदेखि ‘महत्त्वपूर्ण चुनौतीहरू पहिचान गरेको र धोखाधडी, फजुल खर्च र दुरुपयोग रोक्न एजेन्सीको कार्यक्रम सुधार गर्न सिफारिसहरू प्रस्ताव गरेको’ बताएको छ ।

“तथापि एजेन्सीभर हालैको व्यापक कर्मचारी कटौती…विदेशी सहायता छुटको दायरा र कार्यान्वयनकर्ताहरूसँग अनुमति योग्य सञ्चारबारे अनिश्चितताका साथ मिलेर, युएसएडको करदाताद्वारा वित्त पोषित मानवीय सहायता वितरण र सुरक्षा गर्ने क्षमता कमजोर भएको छ”, प्रतिवेदनमा भनिएको छ ।

ट्रम्पले पहिले नै १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसकेका थिए। उनीहरू सङ्घीय सरकारका स्वतन्त्र निगरानीकर्ता थिए तर ट्रम्पका पूर्ववर्ती जो बाइडेनले नियुक्त गरेका मार्टिन भने पदमा रहेका थिए ।