काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि र महत्त्वपूर्ण पूर्वाधारजस्ता रणनीतिक क्षेत्रमा चिनियाँ लगानीमाथि अंकुश लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।
विश्वका २ ठूला अर्थतन्त्रबीच बढ्दो व्यापार तनाव र रणनीतिक प्रतिस्पर्धाका बेला ट्रम्पले यस्तो आदेशमा हस्ताक्षर गरेका हुन् ।
ह्वाइट हाउसले भनेको छ, ‘यसको उद्देश्य अमेरिकी राष्ट्रिय सुरक्षा हितलाई विशेष गरी चीनजस्ता मुलुकबाट उत्पन्न खतराहरूबाट रक्षा गर्नु हो ।’
ह्वाइट हाउसका अनुसार आदेश पत्रमा चीनलाई आफ्नो सैन्य, गुप्तचर र अन्य सुरक्षा उपकरणहरूको विकास र आधुनिकीकरण गर्न संयुक्त राज्य अमेरिकाको पुँजीको बढ्दो दोहनबारे लक्षित गरिएको छ ।
यसले अमेरिकामा विदेशी लगानी सम्बन्धी समिति (सीएफआईयूएस)लाई प्रविधि, महत्त्वपूर्ण पूर्वाधार, स्वास्थ्य सेवा र ऊर्जाजस्ता प्रमुख अमेरिकी क्षेत्रहरूमा चिनियाँ लगानीलाई प्रतिबन्धित गर्न प्रयोग गर्न आह्वान गरेको छ । सीएफआईयूएस संयुक्त राज्य अमेरिकामा विदेशी लगानीको राष्ट्रिय सुरक्षा प्रभावको तौल गर्ने एक समिति रहेको छ ।
ह्वाइट हाउसले भनेको छ, ‘राष्ट्रपति ट्रम्पले विदेशी शत्रुहरूलाई संयुक्त राज्य अमेरिकाको फाइदा लिनबाट रोक्ने आफ्नो वाचा पूरा गरिरहनुभएको छ ।’ ट्रम्पले चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाएपछि शुक्रबारको आदेश आएको छ ।




प्रतिक्रिया