औषधिमा पनि भन्सार लगाउने ट्रम्पको घोषणा

औषधिमा पनि भन्सार लगाउने ट्रम्पको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब औषधिमा पनि कर (आयात शुल्क) लगाउने चेतावनी दिएका छन् ।

ट्रम्पले भने, ‘हामी आवश्यक कदम चाल्दै छौँ । जब हामी औषधिमा शुल्क लगाउँछौँ, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न फर्कनेछन्, किनभने अमेरिका सबैभन्दा ठूलो बजार हो ।’

ट्रम्पले यसले औषधि कम्पनीहरूमा दबाब पर्ने दाबी गरेका छन् । जसका कारण ती कम्पनीले चीनजस्ता देशबाट आफ्नो व्यवसाय सार्नेछन् र अमेरिकामा कारखाना स्थापना गर्ने उनको विश्वास छ ।

ट्रम्पले गत हप्ता कर घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए । तर ट्रम्पले पहिलेदेखि नै औषधिमा छुट्टै कर लगाउने बताइरहेका छन् । विश्वका अधिकांश औषधि चीन, भारत र युरोपमा उत्पादन गरिन्छ ।

केही विज्ञले औषधिमा प्रयोग हुने सामग्रीमा भन्सार लगाइएमा सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन ।

ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेयता विश्वभर भन्सार शुल्कमा कडाइ गरिरहेका छन् । खासगरी उनी चीनविरुद्ध आक्रामक बनिरहेका छन् । चिनियाँ सामान आयातमा उनले कर बढाउँदै बढाउँदै १०४ प्रतिशत पुर्‍याइसकेका छन् ।