भेनेजुएलापछि ग्रीनल्यान्ड, क्युबा र कोलम्बिया ट्रम्पको निसानामा

भेनेजुएलापछि ग्रीनल्यान्ड, क्युबा र कोलम्बिया ट्रम्पको निसानामा


काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरालाई पक्राउ गरेपछि कोलम्बिया, ग्रीनल्यान्ड र टर्कीलाई पनि धम्की दिएका छन् ।

 भेनेजुएलामा मदुरोलाई सत्ताच्युत गरिएपछि राष्ट्रपति ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् ।

ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्‍याएका छन् भने कोलम्बिया र क्युबालाई समेत चेतावनी दिएका छन् ।

ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई धम्की दिँदै क्युबाको सरकार पनि चाँडै ढल्ने चेतावनी दिएको समाचार संस्था अलजजिराले जनाएको छ ।

यस्तै ट्रम्पले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको बताउँद भने, ‘ग्रीनल्यान्डमा अहिले रुसी र चिनियाँ जहाजहरूको चहलपहल बढेको छ । सुरक्षाको दृष्टिकोणले हामीलाई ग्रीनल्यान्ड आवश्यक छ, जुन डेनमार्क एक्लैले धान्न सक्दैन ।’

आइतबार एयर फोर्स वनभित्र पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले निकोलास मादुरोको पक्राउलाई लिएर बढ्दो आलोचनाका बाबजुद पनि ल्याटिन अमेरिकामा थप सैन्य हस्तक्षेपबारे सोच्न तयार रहेको संकेत गरे ।

ट्रम्पले कोलम्बिया र भेनेजुएला दुवै ‘गम्भीर रूपमा बिरामी’ अवस्थामा रहेको टिप्पणी गर्दै बोगोटास्थित सरकार अमेरिकामा कोकिन बनाउने र बेच्ने काम मन पराउने बिरामी मान्छेले चलाइरहेको आरोप लगाए ।

‘ऊ धेरै समयसम्म त्यसो गर्न पाउने छैन । म तपाईंलाई भन्छु,’ ट्रम्पले कोलम्बियाका राष्ट्रपति पेट्रोलाई लक्षित गर्दै भने ।
अमेरिकाले कोलम्बियामा कुनै कारबाही गर्ने संकेत हो कि भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मलाई त राम्रो लाग्छ ।’

यी टिप्पणीहरूपछि पेट्रोले कडा प्रतिक्रिया जनाउँदै ल्याटिन अमेरिकाका सबै देशहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।

‘मानव इतिहासमै दक्षिण अमेरिकी राजधानीमा बमबारी गर्ने पहिलो देश अमेरिका हो’, पेट्रोले सामाजिक सञ्जाल एक्समा लामो पोस्ट लेखेका छन् ।

ट्रम्पका यी भनाइहरू अमेरिकी सेनाले शनिबार भेनेजुएलको राजधानी काराकासमा मादुरोलाई नियन्त्रणमा लिएपछि आएका हुन् । वासिङ्टनले यसलाई २०२० का ‘नार्को–आतंकवाद’ सम्बन्धी अभियोगमा अदालतमा ल्याउन गरिएको कानुनी कारबाही भनेको छ । तर आलोचकहरूका अनुसार मादुरोलाई हटाउनुको उद्देश्य भेनेजुएलाको विशाल तेल भण्डारमाथि नियन्त्रण जमाउनु हो ।

यो कारबाही सन् १९८९ मा पनामा आक्रमणपछि ल्याटिन अमेरिकामा भएको सबैभन्दा विवादास्पद अमेरिकी हस्तक्षेप मानिएको छ ।

ट्रम्पले भेनेजुएलामाथि अमेरिका नियन्त्रणमा रहेको पनि दाबी गरे । भेनेजुएलाले ठीक व्यवहार नगरे फेरि सेना पठाउने धम्की पनि ट्रम्पले दिएका छन् । उनले अमेरिकी आक्रमणमा धेरै क्युबाली मारिएको दाबी गर्दै क्युबामा सैन्य हस्तक्षेप आवश्यक नरहेको, किनकि त्यो देश आफैँ ढल्नै लागेको जस्तो देखिएको दाबी गरे ।

‘क्युबा ढल्न तयार छ । क्युबा ढल्नै लागेको जस्तो देखिन्छ,’ ट्रम्पले भने । ‘अहिले क्युबासँग कुनै आय छैन । उनीहरूको सबै आम्दानी भेनेजुएलाको तेलबाट आउँथ्यो । अब त्यो पाइरहेका छैनन् । क्युबा साँच्चिकै ढल्नै लागेको छ । र यसबाट धेरै क्युबाली–अमेरिकीहरू निकै खुसी हुनेछन्,’ उनले थपे ।

ट्रम्पले छिमेकी मेक्सिकोलाई पनि चेतावनी दिँदै भने, ‘मेक्सिकोले आफ्नो अवस्था सुधार्नुपर्छ, किनकि लागूपदार्थ मेक्सिको हुँदै बगिरहेको छ र हामीले केही गर्नुपर्ने हुन सक्छ ।’

आइतबारका यी टिप्पणीहरू ट्रम्पका कोलम्बिया र क्युबाविरुद्धका पहिलो धम्की भने होइनन् । फिडेल कास्त्रोले अमेरिकासमर्थित सरकार हटाएर समाजवादी राज्य स्थापना गरेदेखि नै अमेरिका–क्युबा सम्बन्ध तनावपूर्ण छ ।

ट्रम्पका यी भनाइहरू ल्याटिन अमेरिकाका वामपन्थी सरकारहरूलाई लक्षित गर्ने र क्षेत्रमा अमेरिकी प्रभुत्व स्थापित गर्ने ठूलो ढाँचाको हिस्सा हुन् ।

ट्रम्पले पश्चिमी गोलार्धमा अमेरिकी उपस्थिति विस्तार गर्ने र १९औँ शताब्दीको मोन्रो सिद्धान्त पुनर्जीवित गर्ने चाहना लुकाएका छैनन् । उनले आफ्नो २१औँ शताब्दीको संस्करणलाई ‘डन–रो सिद्धान्त’ नाम दिएका छन् ।

यसबीच ब्राजिल, चिली, कोलम्बिया, मेक्सिको, उरुग्वे र स्पेनका सरकारले संयुक्त विज्ञप्ति जारी गर्दै ट्रम्पको भनाइप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् र भेनेजुएलाको भूमिमा एकपक्षीय रूपमा गरिएको सैन्य कारबाहीलाई कडा रूपमा अस्वीकार गरेका छन् ।

विश्लेषकहरूका अनुसार ट्रम्पले क्युबा र कोलम्बियाविरुद्धका धम्कीहरू कार्यान्वयन गर्छन् कि छैनन् भन्ने कुरा भन्न अहिले नै चाँडो हुन्छ ।

सिड्नी विश्वविद्यालयका अमेरिकी अध्ययन केन्द्रका सहप्राध्यापक डेभिड स्मिथका अनुसार ट्रम्पको शैली हेर्दा उनी सधैँ अरू देशहरूलाई धेरै बल प्रयोग नगरी आफ्नो चाहना पूरा गराउन डर देखाउने गर्छन् ।

‘इरानमा बमबारी वा भेनेजुएलाको यो कारबाहीजस्ता छोटा तर नाटकीय शक्ति प्रदर्शनले अरू देशहरूलाई डराएर ट्रम्पको चाहनाअनुसार चल्न बाध्य बनाउँछ,’ स्मिथले अल जजिरालाई भने ।