काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल उनको विदेश नीतिको महत्त्वाकाङ्क्षाले परिभाषित गर्दै छ।
उनले सबैभन्दा पहिले भेनेजुएलालाई धम्की दिए अनि त्यसपछि उच्च सुरक्षाभित्र रहेका राष्ट्रपति निकोलास मदुरो र उनकी श्रीमतीलाई रातारात कब्जा गरेर अमेरिका पुर्याए।
यो कारबाहीलाई ट्रम्पले अमेरिकाका तत्कालीन राष्ट्रपति जेम्स मुन्रोले सन् १८२३ मा प्रतिपादन गरेको सिद्धान्तसँग जोडेर व्याख्या गरेका छन्। यसलाई पछिल्लो समय डोनल्ड ट्रम्पकै समेत नाम जोडेर ‘डोन्रो डक्ट्रिन’का रूपमा समेत चर्चा गरिएको छ।
वाशिङ्टनको नजरमा परेका अन्य देशहरूविरुद्ध उनले पछिल्ला दिनमा दिएका केही चेतावनी पनि दिएका छन् ।
डेनमार्क
डेनमार्कको नियन्त्रणमा रहेको ग्रीनल्यान्डमा अमेरिकाको यसअघि नै पिटुफीक स्पेस बेस छ। तर ट्रम्प पूरै टापु आफ्नो बनाउन चाहन्छन्।
‘राष्ट्रिय सुरक्षाका दृष्टिकोणले पनि हामीलाई ग्रीनल्यान्ड चाहिन्छ’, उनले पत्रकारहरूसँग भनेका छन्। उनका अनुसार यो क्षेत्र जताजतै चिनियाँ र रुसी पानीजहाजले ढाकिएको छ।
डेनमार्कको भूभागअन्तर्गत पर्ने यो ध्रुवीय टापु अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा देशको सीमाभन्दा ३,२०० किलोमिटर टाढा पर्छ।
यो टापुमा बहुमूल्य सुन र प्ल्याटिनमदेखि लिथिअम र टाइटानिअमसहितका आठ वटा दुर्लभ धातु अनि रेअर अर्थ एलिमन्ट सूचीकृत छन्। रेअर अर्थ धातु स्मार्ट फोनदेखि विद्युतिय सवारीसाधन र सैन्य उपकरणको उत्पादनका लागि समेत अत्यावश्यक छन्। अहिले चीनले अमेरिकाको भन्दा निकै धेरै रेअर अर्थ खनिज उत्पादन गरिरहेको छ।
कोलम्बिया
भेनेजुएलामा कारबाहीपछि ट्रम्पले कोलम्बियाका राष्ट्पति गुस्टाभो पेट्रोलाई चेतावनी दिएका छन्।
भेनेजुएलाको पश्चिमी छिमेकी कोलम्बिया पनि उल्लेख्य मात्रामा तेलको भण्डारण भएको देश हो। यो देश सुन, चाँदी, पन्ना, प्ल्याटिनम र कोइलाको पनि धनी देश हो। यो क्षेत्रको लागुऔषध कारोबारको केन्द्र पनि कोलम्बिया हो, विशेष गरी कोकेनका लागि।
अमेरिकाले सेम्टेम्बरबाट क्यारिबीअन र पूर्वी प्रशान्त क्षेत्रमा कुनै पनि प्रमाणबिना लागुऔषध बोकेका डुङ्गाहरूमा आक्रमण सुरु गरेपछि कोलम्बियाका वामपन्थी राष्ट्रपतिसँग उनको विवाद बढ्दै गएको छ।
अमेरिकाले लागुऔषध गिरोहलाई फैलने अवसर दिएको भन्दै पेट्रोमाथि गत अक्टोबरमा प्रतिबन्धहरू लगाएको थियो।
आइतवार एअर फोर्समा उड्दै गर्दा ट्रम्पले भने, ‘कोलम्बिया एक जना बिरामी मान्छेले चलाइरहेका छन्। उनी कोकेन बनाएर अमेरिकामा बेच्न रुचाउँछन्। अब उनले धेरै लामो समय यो गरिरहन पाउँदैनन्,’ उनले भने।
ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने कोलम्बिया लागुऔषध नियन्त्रणको युद्धमा अमेरिकाको निकट सहयोगी देश हो। लागुऔषध गिरोह नियन्त्रणका लागि कोलम्बियाले अमेरिकाबाट वर्षेनि दशौँ लाख डलर सैन्य सहायता पाउँदै आएको छ।
इरान
इरानमा अहिले ठूल्ठूला सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन्। यदि थप प्रदर्शनकारीहरूको मृत्यु भए अधिकारीहरूले नराम्रो परिणाम भोग्नुपर्नेू चेतावनी ट्रम्पले दिएका छन्।
‘हामीले निकै नजिकबाट नियालिरहेका छौँ। यदि विगतमा जस्तै मानिसहरू मार्न थाले भने उनीहरूले अमेरिकाबाट निकै नराम्रो परिणामको सामना गर्नुपर्ने हुनसक्छ,’ उनले एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै भने।
सैद्धान्तिक रूपमा इरान डोन्रो डक्ट्रिन भन्दा बाहिर पर्छ। यद्यपि ट्रम्पले यसअघि पनि इरानी सत्तालाई चेतावनी दिएका छन्।
उनले गत वर्ष इरानका परमाणविक पूर्वाधारहरूमा आक्रमणपछि पनि त्यहाँको सत्तालाई चेतावनी दिएका थिए।
मेक्सिको
सन् २०१६ मा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने चुनावी नाराकै कारण ट्रम्प राष्ट्रपति बनेका थिए।
सन् २०२५ मा पुनः राष्ट्रपतिको कार्यभार सम्हालेपछि उनले हस्ताक्षर गरेको पहिलो कार्यकारी आदेशमा गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिका नामकरण गर्ने उल्लेख छ।]
उनले मेक्सिकोका अधिकारीहरूले अमेरिकामा गैरकानुनी आप्रवासी र लागुऔषधको प्रवाह रोक्न कुनै कदम नचालेको आरोप लगाएका छन्।
आइतवार ट्रम्पले मेक्सिकोबाट लागुऔषध थुप्रिएको भन्दै आफूहरूले केही न केही गर्नुपर्ने अवस्था आएको बताएका थिए। उनले त्यहाँका तस्करहरूको गिरोह धेरै बलियो रहेको बताएका छन्।
मेक्सिकोका राष्ट्रपति क्लाउडिआ शेइनबाअमले मेक्सिकोको भूमिमा अमेरिकी सैन्य कारबाहीको सार्वजनिक माध्यममै अस्वीकार गरेका छन्।
क्यूबा
फ्लोरिडाबाट जम्मा १४५ किलोमिटर मात्रै दक्षिणमा रहेको यो टापु सन् १९६०को दशकबाटै अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ। निकोलास मदुरोको भेनेजुएलासँग पनि क्यूबाको राम्रो सम्बन्ध छ।
आइतवार ट्रम्पले क्यूबामा अमेरिकी सैन्य हस्तक्षेपको आवश्यकता नै नभएको बताए। उनका अनुसार क्युबाको सत्ता आफैँ ढल्ने तयारीमा छ।
क्यूबाकै आप्रवासीबाट जन्मिएका अमेरिकी विदेशमन्त्री मार्को रुबिओले लामो समयदेखि क्यूबामा सत्ता परिवर्तन हुनुपर्ने बताइरहेका छन्। उनले भने, ‘राष्ट्रपतिको भनाइलाई गम्भीर रूपमा लिनुपर्छ।’




प्रतिक्रिया