काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई जिताउन निर्वाचन अधिकारीलाई दबाव दिएको खुलासा भएको छ । द वासिङ्गटन पोस्टले आइतबार ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरसंग गरेको एक घण्टा भन्दा लामो टेलिफोन संवाद सार्वजनिक गरेको छ । उक्त सम्वादमा ट्रम्पले निर्वाचनको नजिता उल्टाउन आवश्यक पर्ने मत खोज्न उनलाई दबाव दिएको खुलेको हो । नोभेम्बर ३ मा भएको चुनावमा धांधली भएको आरोप लगाउंदै उनले अमेरिकी राष्ट्रपति जो वाइडेनको जितलाई अस्विकार गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचनमा पराजित भएपनि उनले हार स्विकार गरेका छैनन् । ट्रम्पले चुनावमा धांधली भएको भन्दै मुद्दा दायर गरेका थिए । उनको मुद्दा अदालतले समेत खारेज गरिसकेको छ । बाइडेनले ३०६ तथा ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् । बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिंदै छन् ।
चुनावी नतिजा उल्टाउन ट्रम्पले अनेक कोशिस गरेपनि अन्तत उनका सवै प्रयास विफल भएका छन् । निर्वाचन जित्न एकदम महत्वपूर्ण मानिएको राज्य जर्जियाका उच्च निर्वाचन अधिकारीलाई आफ्नो जितका लागि चाहिने मत ‘निकाल्न’ ट्रम्पले दबाब दिएको उक्त अडियोमा सुन्न सकिन्छ ।
ट्रम्पले सेक्रेटरी अफ स्टेट राफेनस्पगरलाई नतिजा उल्ट्याउनका लागि चाहिने ११ हजार ७८० मत खोज्न भनेका हुन् । ट्रम्पले जित्ने अपेक्षा गरिउको जर्जियामा बाइडेन सांघुरो मत अर्थात ११ हजार ७७९ मतले विजयी भएका थिए । त्यसपछि ट्रम्पले चुनावमा धांधली भएको आरोप लगाएका थिए ।
ट्रम्पले टेलिफोनमा सेक्रेटरी अफ स्टेट राफेनस्पगरलाई आफुले ११ हजार ७८० मत खोज्न चाहेको बताएपछि उनले नतिजा सहि र सत्य रहेको जवाफ फर्काएका थिए । त्यसपछि ट्रम्प उनिसंग रिसाएर अभद्र भाषाको समेत प्रयोग गरेको टेलिफोन संवादमा सुनिन्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जर्जियामा बाइडेनले भन्दा आफूले धेरै मत पाएको घोषणा गर्न राफेनस्पगरलाई दबाब दिएका हुन् । जर्जियामा तीन पटक मतगणना हुंदा समेत बाइडेन विजयी भएका थिए ।




प्रतिक्रिया